Logo

कपिलवस्तु कोरोनाको रेड जोनमा, ५ हजार क्वारेन्टिनमा



कपिलवस्तु, ३ जेठ : कोरोनाको रेड जोन कपिलवस्तुमा संक्रमण हुने ४३ पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार जिल्लामा आज तीन नयाँ संक्रमित थपिएका हुन् ।जिल्लामा देखिएका नयाँ तीन संक्रमित शिवराज नगरपालिका ८ विशनपुर का ३४ र ४४ वर्षीय दुई पुरुष र वडा नं ११ थुन्हियाका २५ वर्षीय एक पुरुष रहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

गत वैशाख २५, २६ र २७ गते उनीहरु भारत लुकिछिपी नेपाल आएका थिए । पुष्टि भएका तीन जना शिवराज ३ सुपादेउराली क्वारेन्टिनबाट कोरोना अस्पाताल बेलझुन्डी दाङ लैजाने तयारी भइरहेको प्रजिअ पौडेलले बताए। वैशाख २९ गते शिवराज नगरपालिकाको क्वारेन्टिनमा रहेका ६६ जनाको स्वाब संकलन गरिएको शिवराज स्वास्थ्य शाखा संयोजक चूडामणि भट्टराईले जानकारी दिए । शिवराज ३ खरेन्द्रपुर सुपादेउराली क्वारेन्टिन र वडा नं-९ प्रकाश माध्यमिक विद्यालय सुन्दरी डाड क्वारेन्टिनमा अहिले ३३८ जना छन् ।

नगरको वडा नं-८ विसनपुरका एक युवक गत वैशाख २५ र अर्काे वैशाख २७ गते सिमानाबाट लुकेर आएको खबर पाउनेबित्तिकै गाउँको बगैँचाबाटै क्वारेन्टिन पठाइएको वडाध्यक्ष शंकर अहिरले बताउनुभयो । संक्रमित दुवै युवा कसैको सम्पर्कमा नआई तत्काल क्वारेन्टिनमा गएको जनाइएको छ ।

शिवराज ११ का संक्रमित युवक वैशाख २६ गते नेपाल आएपछि टोल बाहिरैबाट क्वारेन्टिनमा बस्न गएको वडाध्यक्ष रामेश्वर वर्माले जानकारी दिए । वडा नं ११ का अहिले १० जना क्वारेन्टिनमा रहेको बताइएको छ । नयाँ थप भएसंँगै जिल्ला कोरोना संक्रमणको हटस्पट बनेको छ ।

कपिलवस्तु जिल्लाका यशोधरा गाउँपालिकामा १२, कपिलवस्तु नगरपालिकामा नौ, कृष्णनगर नगरपालिकामा आठ, बुद्धभूमि नगरपालिका र मायादेवी गाउँपालिकामा चारचार, वाणगंगा नगरपालिका र विजयनगर गाउँपालिकामा एकएक तथा शिवराजका तीन जनामा कोरोना संक्रमण भएको छ । जिल्लामा चार सुरक्षाकर्मी, एक स्टाफ नर्स, दुई कर्मचारी र एक ६ वर्षीया बालिकामा संक्रमण भएको हो । कपिलवस्तु जिल्लाभरका क्वारेन्टिनमा हाल झण्डै पाँच हजार छन् ।

क्वारेन्टिन बनाउने विषयमा विवाद

विजयनगर गाउँपालिका –५ महादेव गाउँमा क्वारेन्टिन निर्माणका विषयमा विवाद भएको छ । वडा कार्यालयले पुरानो स्वास्थ्य कार्यालयलाई क्वारेन्टिन बनाउने तयारी गरेपछि स्थानीयवासीले विरोध जनाएका हुन् । विरोध गर्नेक्रममा प्रहरी र स्थानीयवासीबीच सामान्य झडपसमेत भएको छ । झडपका क्रममा स्थानीयवासी ४५ वर्षीय गुजराती कुर्मी र ३५ वर्षीया आमिना खातुन घाइते भएको स्थानीयवासी पवन चौधरीले जानकारी दिए ।

घाइते महिलालाई उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको छ । घाइते दुवैको स्वास्थ्यावस्था सामान्य रहेको वडा नं ५ का वडाध्यक्ष अनवर मोहम्मद मुसलमानले जानकारी दिए। इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले क्वारेन्टिन बनाउने विषयमा सामान्य विवाद भएको बताउनुभयो । पाँच नंका वडाध्यक्ष मुसलमान र वडा नं ७ का वडाध्यक्ष दिनेश चौधरीले क्वारेन्टिन बनाउने तयारी गरेपछि स्थानीयवासीले विरोध जनाएका थिए । रासस File Photo



प्रतिक्रिया दिनुहोस्