Logo

सरकारले कम्तिमा १० दिन लकडाउन थप्दै, आवश्यकता अनुसार सेना परिचालनको तयारी



काठमाडौं, ४ जेठ । कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा मानिसको मृत्यु समेत भएपछि सरकार शतर्क भएको छ । योसँगै कोभिड रोकथामसम्बन्धी संयन्त्रको बैठक बसेर लकडाउन थप्नेबारे संशोधित मोडालिटीसहितको सिफारिश हुने भएको छ । विश्वस्त स्रोतका अनुसार अब लकडाउन झन् कडा हुने भएको छ ।

५ जेठबाट पुनः कम्तिमा १० दिन लकडाउन थप्ने गरी तयारी भएको स्रोतले जानकारी दियो । जेठ महिना निकै जोखिमले भरिएको रिपोर्टहरु आएपछि सरकारले लकडाउन कडाईका साथ थप्न लागेको हो ।

लकडाउन लम्ब्याउने र मोडालिटीबारे संयन्त्रले सुझावहरु संकलन गरिसकेको छ । चारवटै सुरक्षा निकायका प्रमुख देखि स्वास्थ्य मन्त्रालय, आपूर्ति मन्त्रालयलगायतका अधिकारीहरुको राय संकलन गरेर अबको योजनाबारे थप निर्णय लिन लागिएको बुझिएको छ ।

कोरोना भाइरसको रोकथाममा सेना समेत परिचालन हुन थालेका छन् । हिजो कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी महिलाको शव दाहसंस्कार गर्न पशुपति आर्यघाट लगिदा सेना समेत सुरक्षाका लागि खटिएको थियो । अब आवश्यकता अनुसार सेना पनि परिचालन गर्ने तयारी भएको स्रोतले जानकारी दियो ।

विश्वस्त स्रोतका अनुसार अब काठमाडौं उपत्यका छिर्ने मुख्य नाकाहरुमा नेपाली सेनालाई समेत समावेश गरी कडाई गरिने तयारी भएको छ । चारवटै सुरक्षा निकायलाई स्वास्थ्यकर्मी र स्थानीय निकायका जनप्रतिनिधिसँग समन्वय गरी खटाइने योजना बनाइएको छ ।

कोरोना भाइरसको संक्रमित संख्या ह्वात्तै बढेपछि र एकजनाको मृत्यु पनि भइसकेको अवस्थामा सरकारले झन् कडा नीति लिन लागेको हो । यसपटक कम्तिमा १५ जेठसम्म लकडाउन थपिने तयारी भएको छ । संयन्त्रको बैठक बसेर सिफारिश गर्ने र मन्त्रिपरिषद बैठक बसेर सम्भवत आजै निर्णय लिने बुझिएको छ ।

सरकारले लकडाउन कडाई गर्न यसअघि वितरित सबै पास रद्द गरिसकेको छ । निश्चित क्षेत्र तोकी आधिकारिक परिचयपत्र विना सवारी साधन गुड्न निषेध गरिएको छ । उपत्यकाभित्र पैदल समेत भित्रन निषेध गरिएको छ ।

संक्रमण समुदायसम्म फैलिएपछि गृह मन्त्रालय कडा रुपमा प्रस्तुत भइसकेको छ । अत्यावश्यक सेवाका सवारीलाई पास चाहिंदैन । तर, ती सवारीमा यात्रा गर्ने सबैले अनिवार्य आधिकारिक परिचयपत्र लिनुपर्नेछ । योसँगै सडक सुनसान हुन थालिसकेको छ ।

पास विना सञ्चालन गर्न पाउने सवारीसाधन
एम्बुलेन्स, शवबाहन र दमकल
यसैगरी झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरु प्रेस काउन्सिलबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु
स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिस्ट प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु, औषधी उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिहरु
खानेपानीको मर्मत सम्भार र वितरणमा संलगन जनशक्ति
फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति
ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति
अत्यावश्यक वस्तु तथा ढुवानी गर्ने मालबाहक सवारी साधनहरु
यी क्षेत्रका सवारी चलाउनेले अनिवार्य आफ्नो कर्मचारी परिचय पत्र साथमा लिएको हुनुपर्नेछ

लकडाउनमा सवारी साधन सञ्चालनको नियम

लकडाउनमा पास नचाहिने सवारी साधन



प्रतिक्रिया दिनुहोस्