Logo

सीमानाकामा कडाइ जारी, अवैध क्रियाकलापमा आएन कमी



काठमाडौँ, ४ जेठ । भारतसँग सीमा जोडिएको सर्लाहीमा १३ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै लगेको हो ।

जिल्लाको भारतसँग सीमा जोडिएका ५१ किलो मिटर दूरीमा सशस्त्र प्रहरी बलले आफ्नो पोष्ट खडा गरी सीमा क्षेत्रमा दिनरात पहरा दिइरहेको छ । सोह्र बेसक्याम्प र ८२ ड्युटी पोष्ट बोर्डरमा करिब ८० देखि १०० मिटरको दूरीमा ५०० सशस्त्र प्रहरीलाई ड्युटीमा खटाइएको सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा कार्यालय सर्लाहीले जनाएको छ । भारतबाट अवैधरूपमा नेपाल प्रवेश नरोकिएपछि सीमा क्षेत्रमा बिओपी, ड्युटी पोष्ट र बेसक्याम्प स्थापना गरिेएको सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा कार्यालय सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले बताएका छन् ।

सीमानाका खुला रहेका र पछिल्लो क्रममा भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेका कारण सीमा क्षेत्रमा थप सतर्कता अपनाइएको भए पनि आपराधिक क्रियाकलापमा भने खासै परिवर्तन आउन सकेको छैन । करिब ३.५ किलोमिटर दूरीमा करिब ५०० जनशक्ति बोर्डरको लागि परिचालन गरिएको भए पनि खुला सिमानाका कारण लुकीछिपी नेपालमा लागुऔषध तथा हातहतियार भित्रने क्रम निरन्तर रहेको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्