Logo

लकडाउन लम्ब्याउँदै झन् कडा बनाउने निर्णय आजै



काठमाडौं, ४ जेठ । सरकारले लकडाउनको अवधि लम्ब्याउने भएको छ । कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा सुत्केरीको मृत्यु भएपछि सरकारले लकडाउन कडा गर्ने निर्णय गर्ने भएको हो ।

लकडाउन कडाई गर्दै लम्ब्याउनका लागि कोभिड-१९ रोकथामसम्बन्धी सरकारी उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ । बैठकले सिफारिश गरेपछि मन्त्रिपरिषदको बैठकबाट आजै पारित गर्ने तयारी भएको छ ।

५ जेठसम्मका लागि लम्ब्याइएको लकडाउनका बाबजुद संक्रमण फैलिएर समुदायका अलावा सुरक्षाफौजसम्म पुगेपछि सरकारले कडा निर्णयका साथ अगाडि बढ्न निर्णय गर्न लागेको बुझिएको छ । रोकथामका लागि चारवटै सुरक्षाफौजहरुलाई समन्वय गरी परिचालन गर्ने तयारी समेत भइसकेको छ ।

५ जेठबाट पुनः कम्तिमा कम्तिमा १० दिन लकडाउन थप्ने गरी तयारी भएको उच्च सरकारी स्रोतले जानकारी दियो । जेठ महिना निकै जोखिमले भरिएको रिपोर्टहरु आएपछि सरकारले लकडाउन कडाईका साथ थप्न लागेको हो ।

लकडाउन लम्ब्याउने र मोडालिटीबारे संयन्त्रले सुझावहरु संकलन गरिसकेको छ । चारवटै सुरक्षा निकायका प्रमुख देखि स्वास्थ्य मन्त्रालय, आपूर्ति मन्त्रालयलगायतका अधिकारीहरुको राय संकलन गरेर अबको योजनाबारे थप निर्णयमा सरकार पुग्न लागेको हो ।

कोरोना भाइरसको रोकथाममा सेना समेत परिचालन हुन थालेका छन् । हिजो कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी महिलाको शव दाहसंस्कार गर्न पशुपति आर्यघाट लगिदा सेना समेत सुरक्षाका लागि खटिएको थियो । अब आवश्यकता अनुसार सेना पनि परिचालन गर्ने तयारी भएको स्रोतले जानकारी दियो ।

विश्वस्त स्रोतका अनुसार अब काठमाडौं उपत्यका छिर्ने मुख्य नाकाहरुमा नेपाली सेनालाई समेत समावेश गरी कडाई गरिने तयारी भएको छ । चारवटै सुरक्षा निकायलाई स्वास्थ्यकर्मी र स्थानीय निकायका जनप्रतिनिधिसँग समन्वय गरी खटाइने योजना बनाइएको छ ।

सरकारले लकडाउन कडाई गर्न यसअघि वितरित सबै पास रद्द गरिसकेको छ । निश्चित क्षेत्र तोकी आधिकारिक परिचयपत्र विना सवारी साधन गुड्न निषेध गरिएको छ । उपत्यकाभित्र पैदल समेत भित्रन निषेध गरिएको छ ।

संक्रमण समुदायसम्म फैलिएपछि गृह मन्त्रालय कडा रुपमा प्रस्तुत भइसकेको छ । अत्यावश्यक सेवाका सवारीलाई पास चाहिंदैन । तर, ती सवारीमा यात्रा गर्ने सबैले अनिवार्य आधिकारिक परिचयपत्र लिनुपर्नेछ । लकडाउनको पालना नगर्नेलाई कडा कारबाही सम्मको निर्णय हुने बुझिएको छ । पर्सामा कोरोना भाइरसका संक्रमित अस्पतालबाट भागेमा गोली सम्म हान्ने अधिकार दिइएको छ ।

पास विना सञ्चालन गर्न पाउने सवारीसाधन
एम्बुलेन्स, शवबाहन र दमकल
यसैगरी झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरु प्रेस काउन्सिलबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु
स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिस्ट प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु, औषधी उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिहरु
खानेपानीको मर्मत सम्भार र वितरणमा संलगन जनशक्ति
फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति
ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति
अत्यावश्यक वस्तु तथा ढुवानी गर्ने मालबाहक सवारी साधनहरु
यी क्षेत्रका सवारी चलाउनेले अनिवार्य आफ्नो कर्मचारी परिचय पत्र साथमा लिएको हुनुपर्नेछ

File Photo: Mukunda Kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्