Logo

यी हुन् कोभिड-१९ बाट मृत्यु भएका दुई संक्रमित (सुचीसहित)



काठमाडौं, ४ जेठ । लगातार दुई दिन कोरोना भाइरसबाट नेपालमा पनि मानिसको मृत्यु भएको दुःखद खबर आएको छ । मृतकहरु एक पुरुष र एक महिला छन् ।

पुरुषको ४ जेठमा निधन भएको हो भने महिलाको २ जेठको राति निधन भई ३ जेठमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
कोभिड १९ बाट मृत्यु हुने नेपालकै प्रथम व्यक्ति सुत्केरी हुन् । २९ वर्षीय उनी सिन्धुपाल्चोकको बाह्रबिसे राम्चेकी स्थायी बासिन्दा हुन् । उनको परिवार तरकारीको व्यापार गर्दै टोखामा बस्दै आएको थियो ।

महिलालाई ज्वरो र अत्याधिक स्वास प्रश्वासमा समस्या भएपछि धुलिखेल अस्पताल लगिदै गर्दा बाटोमै मृत्यु भएको थियो । पछि उनको स्वाब टेष्ट गर्दा पोजेटिभ देखिएको थियो ।

महिला १० दिनकी सुत्केरी थिइन् । उनले २४ वैशाखमा त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा बच्चालाई जन्म दिएकी थिइन् । स्वास्थ्य मन्त्रालयका अनुसार उनी २३ वैशाखमा अस्पताल भर्ना भएकी थिइन् । बच्चालाई नर्मल जन्म दिएको भोलिपल्ट अस्पतालबाट डिस्चार्ज भई घर फर्किएकी थिइन् ।

ज्वरो र स्वास प्रश्वासले थलिएपछि स्थानीय अस्पतालमा उपचार गराएको र स्थिति जटिल भएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

यसैगरी, कोरोना भाइरस संक्रमणबाट दोस्रो व्यक्तिको निधन हुने २५ वर्षका युवक बाँकेको नरैनापुरका हुन् । सीमानाका खुकुलो पारी नेपालीलाई प्रवेश दिएपछि भारतबाट ३० वैशाखमा फर्किएका उनी बाँकेकै क्वारेन्टाइनमा थिए ।

अस्पतालमा आज विहान ६ बजेर ४० मिनेटमा निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । त्यसपछि कोभिड १९ टेष्टका लागि नमुना संकलन गरिएको थियो । आज साँझ उनको नमुना परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको जानकारी डा. देवकोटाले बताए ।

कोभिड १९ बाट मृत्युको सुची
१. सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला । उनी १० दिनको सुत्केरी थिइन् । २ जेठमा निधन भई ३ जेठमा कोभिड १९ को संक्रमण पत्ता लागेको
२. बाँकेको नरैनापुरका २५ वर्षीय युवक । ३० वैशाखमा भारतबाट फर्किएका । ४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लागेको ।-File Photo



प्रतिक्रिया दिनुहोस्