Logo

स्वास्थ्यकर्मीमाथि स्वयमसेवकको ‘सेवा’, नागरिकमाथि सेनाको ‘संरक्षण’



जेठ ५, काठमाण्डौ । लकडाउनका बेला विभिन्न समस्या देखिएका छन् । कहिले राहत वितरणमा समस्या त कहिले लकडाउन कार्यान्व्यनमा कस्ट । यस्ता धेरै समस्या छन् । पछिल्ला दिनमा लकडाउन पालना गराउने नाममा सडकमा स्वयमसेवकदेखि नेपाली सेनासम्म देखिन थालेका छन् । र लक डाउन पालना गराउन जबरजस्ती र दुव्र्यवहारसम्म हुने गरेका छन् ।

शुक्रबार दिउँसो हेटौंडाबाट काठमाडौं आउँदै गरेका बागमति प्रदेशका जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा.नारायण कार्कीमाथि नागढुंगा नाकामा स्थानीय उत्तम कार्कीसहितका युवाले, जसले स्वयमसेवकको रुपमा खानतलासी लिए । उनीहरुले सामाजिक सञ्जालमा लाइभ गर्दै दुर्व्यवहारकै तहमा ओर्लिए । निर्देशक डा कार्कीले आफ्नो परिचय खुल्ने परिचय पत्र देखाउँदा देखाउँदै पनि उनीमाथि दुव्र्यबहार भएको थियो । अहिले प्रहरीले युट्युबरका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्न उक्साउने प्रहरी अधिकारीमाथि छानवीन शुरु गरेको छ । घटनास्थलमा प्रहरी पनि थिए । महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले उक्त घटनामा प्रहरीसमेत दोषी हुन सक्ने भन्दै छानविन भइरहेको जानकारी दिएका छन् ।

स्वयमसेवकले सार्वजनिक स्थानमा जोकोहीलाई सेवा गर्ने जिम्मेवारी लिएको हुन्छ । माथि उल्लेखित स्वयम्सेवक उत्तम कार्कीले गरेको सेवालाई कसरी लिने ? उनले आफूलाई सामाजिक अभियान्ताको रुपमासमेत चिनाउने गरेका छन् ।

आइतबारको अर्को घटना फेरी चर्चामा आयो । आइतबारको घटनामा भने नेपाली सेना संलग्न थियो । सेनाले लकडाउनका बेला सडकमै उत्रिएर चेक जाँच गरेको छ । यसरी चेकजाँच गर्ने क्रममा एक व्यक्तिलाई दुव्र्यवहारपूर्ण तरिकाले दुःख दिएको आरोप सेनामाथि लागेको छ ।

यद्यपी सेनाले कतिपय व्यक्तिले नेपाली सेनाका कर्मचारीले लगाउने पोषकसँग मिल्दोजुल्दो कपडा लगाएर हिँड्दा समस्या आएको भन्दै चेकजाँच गरेको हो । तर त्यस्तो कपडा लगाएका व्यक्तिलाई ठाउँका ठाउँ खोलेर नाङ्गै बनाएपछि आलोचना भइरहेको छ । सेनाले जसलाई नाङ्ग्झार पार्यो, ति व्यक्तिलाई अबदेखि त्यस्तो कपडा नलगाउनु भनेर निर्देशन मात्रै दिए पुग्ने थियो । किनकी ति व्यक्ति श्रीमतीको उपचारका लागि सडकमा भौँतारिदै हिँडेका थिए ।

यो घटनामा संलग्न नेपाली सेनाका व्यक्तिले गरेको व्यवहार नागरिकप्रतिको संरक्षण भन्ने कि के भन्ने ?

शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी नेपाल प्रहरीको हो । जोसुकैले नागरिकमाथि अन्याय गर्यो वा दुव्र्यबहार गर्यो भने त्यसको रेखदेख प्रहरीले नै गर्नुपर्छ । तर फिल्डमा खटिएका सेनाले गरेको दुव्र्यवहारबारे प्रहरी प्रशासन अहिलेसम्म मौन छ ।

यतिबेला मुलुक संकटग्रस्त परिस्थितीमा छ । यस्तो बेला नेपाल प्रहरीलगायत सुरक्षा निकायले खेलेको भूमिका प्रशंसायोग्य छ । र उनीहरुलाई हौसला दिनु जरुरी छ । तर रक्षकले नै नागरिकमाथि दुव्र्यवहार गर्ने वा प्रहरीकै आँखा अगाडि कसैले दुव्र्यवहार सहनुपर्दा पनि साहारा नपाउने हो भने प्रहरीको भूमिकामाथि पक्कै प्रश्न उठ्ने छ । तसर्थ जिम्मेवारी बोकेका निकाय अझै जिम्मेवार बन्नुपर्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्