Logo

कोरोना नियन्त्रणमा खटिएकाप्रति मानवीय व्यवहार गर्न आग्रह



काठमाडौँ, ६ जेठ । कोभिड–१९ को महामारी नियन्त्रण तथा रोकथाम र सङ्क्रमितहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयं सेवकमाथि अमानवीय व्यवहार गर्नेहरूलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।

स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको अभियोगमा काठमाडौँ उपत्यकाबाट दुई र अन्य जिल्लाबाट तीन जना गरी पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका सबैलाई अभद्र व्यवहार मुद्दाअन्तर्गत कानुनी कारबाही भइरहेको जनाइएको छ । नेपाल प्रहरीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक र सञ्चारकर्मीको सवारी आवागमनमा कुनै किसिमको अवरोध सिर्जना नगर्न पनि आग्रह गरेको छ । सो विषयमा लिखित तथा मौखिक रूपमा गुनासो आएमा संलग्न व्यक्ति र समूहलाई कानुनी कारबाहीको चेतावनी प्रहरीले दिएको छ ।

कोरोना नियन्त्रणको अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक र सञ्चारकर्मीलाई घरबाट निकाल्ने, अनावश्यक दबाब दिने, अमानवीय व्यवहार गर्नेलाई कारबाही गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक निरजकुमार शाहीले गृह मन्त्रालयको निर्देशनपछि कानुनविपरीतका कार्य गर्ने र घरभाडामा बसिरहेकालाई अनावश्यक यातना दिनेविरुद्ध उजुरी लिई कारबाहीका लागि सम्पूर्ण प्रहरी कार्यालयलाई परिपत्र गरिएको जानकारी दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्