Logo

नयाँ नक्सा जारी गरिएको दिनलाई ऐतिहासिक दिनका रूपमा स्मरण गरिने छ : मुख्यमन्त्री पौडेल



काठमाडौँ, ६ जेठ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मिचिएको भूमि समेटेर नयाँ नक्सा जारी गरिएकामा खुशी व्यक्त गरेका छन् ।

सोमबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले मिचिएको भूमि समेटेर नक्सा जारी गरिएको दिनलाई भविष्यमा ऐतिहासिक दिनका रूपमा स्मरण गरिने बताएका छन् । “आजको यो दिन नेपाली इतिहासमा निक्कै गर्विलो दिनका रूपमा लेखिने छ । नेपाली भूमि भइकन पनि हिजोको दिनमा नेपालकै नक्साबाट हटाइएको क्षेत्र समेटेर नक्सा जारी गर्ने सरकारको निर्णय नेपाली जनताको स्वाभिमान उच्च राख्न निकै नै महत्वपूर्ण छ ।

यो निर्णयले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार राष्ट्र र राष्ट्रियताप्रति समर्पित र संवेदनशील छ भन्ने कुरा दर्शाउँछ । अर्थतन्त्र, क्षेत्रफल र जनसङ्ख्याका हिसाबले देश साना र ठूला होलान् तर सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमान हरेक देशको बराबर हुन्छ भन्ने प्रधानमन्त्री ओलीको उद्धरण आज सिद्ध भएको छ”, पौडेलद्वारा जारी सन्देशमा भनिएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्