Logo

लकडाउनमा सत्ताका लागि लडेपछि कोरोना पस्यो देशको कुना काप्चा



काठमाडौं, ६ जेठ । देश कोरोना भाइरससँग लडिरहँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र सत्ता ढाल्ने खेल भए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन भएका प्रयास विफल भएपनि त्यसले कोभिड १९ रोकथाममा सरकारले जसरी ध्यान पूरा केन्द्रित गर्नुपर्ने हो सकेन ।

प्रधानमन्त्री ओली सत्ता जोगाउन सांसद र पार्टीका सहकर्मीहरुसँग समर्थनको आग्रह गर्नमा समय बिताउन पुगे । यसको असर सिधा कोरोना भाइरसको रोकथामको कदममा देखियो ।

सत्ताको लडाईंमा सारा शक्ति केन्द्रित गरेर सफल भएका प्रधानमन्त्री ओलीले सुरक्षित भएपछि एकैपटक लकडाउन कडा नभएको, सीमा नाकाको व्यवस्थापन र चेकजाँच ठिक नभएकोमा ध्यान दिन पुगे । उनले उपप्रधानमन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादललाई बल्ल कडा निर्देशन दिए ।

लकडाउनको राम्ररी पालना नभएकै कारण देशभर कोरोना महामारी वस्तीसम्म पुग्यो । सुरक्षाकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखियो । स्वास्थ्यकर्मी र पत्रकारमा पनि देखियो । विस्तारै यसले कुनै पेशाकर्मीलाई नछाड्ने भइसकेको छ ।

कोरोना महामारी बन्ने खतरामा देश पुगिसकेको छ । ३ र ४ वैशाखमा दुईजनाको संक्रमणबाट मृत्यु पुष्टि भइसकेको छ । बितेको दश दिनमै संक्रमितको संख्या दोब्बर बढेको छ । ५ जेठसम्म संक्रमित संख्या ३७५ पुगिसकेको छ । एउटा जिल्लाको एकै स्थानबाट ठुलो संख्यामा संक्रमित भेटिएका छन् । बाँकेको नरैनापुरमा हिजो एकै दिन ५९ संक्रमित भेटिएका छन् । पर्सा, कपिलवस्तु र रौतहटमा वस्ती वस्ती कोरोना छिरेको छ ।

वीरगञ्ज अस्पतालमा कोभिड १९ का संक्रमितलाई राख्ने ठाउँ अभाव भइसकेको छ । कोशी अस्पतालमा पनि भीड बढ्दै गएको छ । बाँकेमा पनि संख्या बढ्दै गएको छ । वीरगञ्जमा ठाउँ अभाव भइसकेको छ ।

धमाधम अस्पतालहरु शिल गर्न थालिएपछि कोरोना संक्रमितलाई कहाँ राख्ने चुनौती हुनसक्छ । स्वासप्रश्वासको गम्भीर समस्या बढेमा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । तर, देशमा केही सयभन्दा बढी भेन्टिलेटर छैन । संक्रमित दिनहुँ बढ्ने क्रम छ । यसले कोरोना नेपालमा भयावह हुनसक्ने खतरा देखिदैछ । चिकित्सकहरुले भयावह अवस्थाको आँकलन गरेका छन् । एक चिकित्सक भन्छन्, अब कोरोना भाइरसको चुनौती खतरनाक बन्ने देखिइसकेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्