Logo

१५ बोरा चामलका लागि ६ सय ५० को आवेदन



ललितपुर, जेठ ९ । ललितपुर महानगरपालिका–१६ ले जेठ ७ गते बुधबार राहत वितरण गर्ने पूर्वनिर्धारित कार्यक्रम मंगलबार साँझ अचानक स्थगित गर्यो । बाँड्न राखिएको खाद्य सामग्रीको तुलनामा कैयौं गुणा मानिसले राहतका लागि आवदेन भर्नु नै स्थगित गर्नुको मुख्य कारण थियो ।

१५ बोरा चामल वितरण गर्न लाग्दा ६ सय ५० ले राहतको माग गरेपछि कार्यक्रम स्थगित गर्नुबाहेक अर्को विकल्प नरहेको वडाध्यक्ष निर्मलरत्न शाक्यले बताए । ‘राहतको माग गर्ने सबैलाई दिन सकिएन भने विवाद अवश्य आउनेछ ।’ –वडाध्यक्ष शाक्यले भने ।

यसअघि सो वडामा राहतका लागि आवेदन भर्नेमा अधिकांश बहालमा बस्ने थिए भने यसपटक स्थानीय रहेका छन् । ललितपुर–११ मा पनि महानगरपालिकाले राहतका लागि भनेर १५ बोरा चामल पठाएको थियो । ‘राहतको माग गरेर वडा कार्यालयमा आउने मानिसको संख्या सयौं छ । राहत कसलाई दिने र कसलाई नदिनेझैं भएको छ ।’ –वडाध्यक्ष इन्द्रमान महर्जनले भने ।

लकडाउन लम्बिएपछि काठमाडौं उपत्यकाका अरू जिल्लासँगै ललितपुरमा राहतको माग गर्ने मानिस संख्या बढिरहेको यो एउटा उदाहरण भएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्