काठमाडौं, १० जेठ । नेपाल मामिलाका जानकार एवम् नेपाल-भारत प्रवुद्ध व्यक्ति समूह (E.P.G.) का भारत तर्फका पूर्व सदस्य प्राध्यापक डा. महेन्द्र पि. लामाले नेपाल र भारतबीचको सिमा विवादको समाधानको लागि वार्ता र सम्वाद नै उत्तम विकल्प भएको बताएका हुन् । उनले अहिले दुई देशबीचको सम्बन्ध फेरि तिक्तता आएको सुनाए । शुक्रबार प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्राध्यापक लामाले यस्तो बताएका हुन् ।
उनले भने,’अभाग्यवश दुई तीन वर्षपछि फेरि यस्तो किसिमको तित्तता दोहोरियो । यो तित्ततालाई पहिलेजस्तै ठिक बाटोमा ल्याउनको लागि र सुगम बाटोमा ल्याउनको लागि दुई देशबीच वार्ता हुनुनै पर्ने हो । वार्ताबाहेक अरु केही उपाय नै छैन् । हामी आशा गर्छौं दुई देशबीचको वार्ता चाँडोभन्दा चाँडो हुनेछ ।’ उनले दुवै देशका नीति निर्माताहरुलाई वार्तामा बसाउनको लागि सबैले आ आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने पनि सुझाव दिए ।