Logo

एउटै गाउँपालिकामा एक सय १३ जना कोरोना सङ्क्रमित



राँझा, १० जेठ। नेपालमै कोरोनाको खतरा क्षेत्र बन्न पुगेको बाँकेको नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जानाका साथै ११३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आज मात्रै २७ जना सङ्क्रमित थपिएका छन् । भेरी अस्पताल, नेपालगञ्जमा चाप बढेपछि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा पठाइएको नमूनाको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा आज कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नरैनापुरको मदरसा क्वारेन्टिनमा रहेका ६, नरैनापुर–३ को नेराप्रावि क्वारेन्टिनमा बसेका १५ र नरैनापुर–१ को नेराप्रावि क्वारेन्टिनमा बसेका ६ गरी २७ जनामा आज कोरोना पुष्टि भएको छ । यससहित नरैनापुरमा मात्रै ११३ जनामा कोरोना देखिएको छ । त्यहाँ एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतीय सीमासँग जोडिएको नरैनापुरमा पहिलो पटक भारतबाट आएका आठ जनामा यही जेठ २ गते कोरोना सङ्क्रमण देखिएको नरैनापुरमा एक हप्ताभित्र एक जनाको ज्यान जाने गरी सङ्क्रमितको सङ्ख्या ८७ पुगेको थियो । आज १७ जना थप भएको छ ।

ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएपछि जेठ ५ गतेदेखि नरैनापुर गाउँपालिकालाई पूर्णरुपमा सिल गरी सतर्कता अपनाइएको छ तर सङ्क्रमण रोकिएको छैन । यससँगै जिल्लामा १४२ जनामा कोरोना संक्रमण भएको छ भने २१ जना निको भएर घर फर्किसकेका छन् ।

सङ्क्रमितलाई तीन ठाउँमा व्यवस्थापन

बाँकेमा एकैपटक ठूलो सङ्ख्यामा देखिएका कोरोना सङ्क्रमितलाई जिल्लाका तीन स्थानमा व्यवस्थापन गरिएको छ । संक्रमितलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा मात्र आइसोलेशन अस्पताल रहेकाले नेपालगञ्जको लायन्स डेण्टल अस्पताल र कोहलपुरको पिपरीस्थित कृषि विकास तालिम केन्द्रमा थप दुई आइसोलेशन केन्द्र तयार गरी सङ्क्रमितको व्यवस्थापन गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि नरैनापुरमा फेला परेका आठ जनालाई दाङको बेलझुुण्डीस्थित आइसोलेशन अस्पतालमा राखिएको छ । बिरामी भएकालाई आइसोलेशन अस्पताल र बिरामी नभएकालाई आइसोलेशन केन्द्रमा राख्ने नीतिका साथ सङ्क्रमितलाई नेपालगञ्ज, कोहलपुर र खजुरामा स्थानान्तरण गरी व्यवस्थापन गरिएको फोकलपर्शन श्रेष्ठले जानकारी दिनुभयो । धेरै अट्ने आइसोलेशन अस्पताल नभएका कारण सङ्क्रमितलाई तीन ठाउँमा स्थानान्तरण गरी उपचार सेवा प्रदान गरिएको श्रेष्ठको भनाइ छ । स्थानान्तरणका क्रममा नरैनपुरमा र कोहलपुरमा स्थानीयवासीले विरोध गरेका कारण केही समय ढिलाइ भए पनि सङ्क्रमितलाई आइसोलेशन केन्द्रमा व्यवस्थापन गरिएको र सबैको स्वास्थ्यावस्था सामान्य रहेको श्रेष्ठले बताउनुभयो । रासस File photo



प्रतिक्रिया दिनुहोस्