Logo

नरैनापुरमा लापार्वाहीले सङ्क्रमण बढ्दो



राँझा, १० जेठ : नरैनापुरमा स्थानीयवासीको लापर्वाहीले कोरोना सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमितलाई आइसोलेशन अस्पताल ल्याउनमा रोक लगाउँदा तथा क्वारेन्टिनमा अनावश्यक रुपमा हुलहुज्जत गर्दा समुदायस्तरमै कोरोना सङ्क्रमण दैनिक रुपमा बढिरहेको छ । कोरोना भाइरससम्बन्धी समुदायस्तरमा गलत बुझाइ र पछिल्लो समयमा सङ्क्रमित आइसोलेशनमा बस्न अटेरी गर्दा सङ्क्रमणको जोखिम झन् बढ्दो छ । नरैनापुरका सङ्क्रमितको अटेरीका कारण उनीहरुलाई समयमै आइसोलेशनमा ल्याउन समस्या हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार पुष्टि भएका नरैनापुर ३ का सङ्क्रमितले आइसोलेशन कक्षमा आउन नमान्दा शुक्रबार राति १२ बजे १२ जनालाई लिइएको छ भने क्वारेन्टिनबाटै फरार एक जनालाई आज मात्रै फेला पारेर ल्याउन सकिएको छ । स्वास्थ्य र सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकले आफ्नो ज्यान जोखिममा राखेर काम गरिरहँदा नरैनापुरका सङ्क्रमित र स्थानीयवासीले सहयोग नगरेको उहाँको भनाइ छ । नरैनापुरमा मात्रै शनिबार ८७ जना सङ्क्रमित पुगेका छन् ।

नरैनापुरका बासिन्दा तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तव शिक्षा, स्वास्थ्य र सचेतनाको कमीका कारण नरैनापुरमा कोरोना सङ्क्रमण बढ्दै गएको बताउनुहुन्छ । बाँकेका प्रहरी उपरीक्षक वीरबहाद्र वलीले स्थानीयवासी र अन्य सरोकार पक्षले असहयोग गर्दा नरैनापुरबाट सङ्क्रमितलाई ल्याउन पटकपटक कठिन परिस्थिति आउने गरे पनि आफूहरुले धैर्यपूर्वक काम गरिरहेको बताउनुभयो । बाँकेमा सङ्क्रमितको सङ्ख्या ११६ पुगेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्