Logo

दुुर्लभ घडियाल फैलाउन निकुुञ्जको जुक्ति



काठमाडौँ, ११ जेठ । दुर्लभ जलचर घडियाल गोहीको यति बेला बच्चा कोरल्ने याम हो । कसरास्थित घडियाल प्रजनन केन्द्रका विज्ञ तथा प्राविधिकहरू अहिले सुरक्षित तवरले घडियालका अन्डाबाट कसरी धेरैभन्दा धेरै बच्चा निकाल्ने भन्ने अनेक जुुक्ति लगाइरहेका छन् ।

त्यस क्रममा अन्डा खोजी खोजी बच्चा कोरलिँदै छ । प्रजनन केन्द्रका विज्ञ तथा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्का अहिले नदीहरूमा गोहीका अन्डा खोज्न र त्यसलाई सुरक्षित तरिकाले प्रजनन केन्द्रमा ल्याउने काम भइरहेको बताएका छन् । “चैतदेखि जेठसम्मको महिना गोहीको अन्डा सङ्कलन गर्ने र प्रजननमा राख्ने याम हो”, उनले भने, “यो वर्ष पनि हामीले राप्ती र नारायणी नदीबाट विभिन्न घडियालका नौवटा गुँडबाट तीन सय अन्डा सङ्कलन गरी प्रजनन केन्द्रमा बच्चा कोरल्न राखेका छौँ ।”

गोहीले बालुवाभित्र गुँड बनाएर अन्डा पार्छ । यसरी बालुवाभित्रको अन्डाबाट ६५ देखि ९० दिनभित्र बच्चा निस्कन्छ । प्रजनन केन्द्रमा पनि प्राकृतिक रूपमा जस्तै गरी बालुवाभित्र गुँड बनाएरै अन्डा राखिने गरिएको विज्ञ खड्काले बताएका छन् । “बालुवामा भेटिएका अन्डामध्ये ६० प्रतिशतसम्म बच्चा कोरल्ने र बचाउन सकेको हाम्रो अनुभव छ”, उनले भने ।

उसो त नदीमा भेटिएकाबाहेक पनि वर्षमा ५० देखि ६० वटा त प्रजनन केन्द्रमै रहेका गोहीहरूले पनि बच्चा कोरल्ने गरेको बताइन्छ । यसरी प्रजनन केन्द्रमा जन्माएर हुर्काइएका घडियाल पछि नदीहरूमा छाडिन्छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्