काठमाडौं, ११ जेठ । बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई तत्काल स्वदेश फर्काउनको लागि सरकारले ढिलासुस्ती गरेको र उदासिनता देखाएको भन्दै अभिभावक तथा नागरिक समाजका अगुवाले गुनासो पोखेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभिभावकहरुले यस्तो गुनासो पोखेका हुन् । दुई महिनादेखि नेपाली विद्यार्थीहरु लकडाउनका कारण उतै अड्किएको र उनीहरु जतिसक्दो चाँडो नेपाल आउन चाहिरहेका छन् । आफ्ना छोराछोरीहरुले जतिसक्दो चाँडो स्वदेश झिकाउन आफूहरुसँग विलौना गरेको अभिभावकहरुको गुनासो छ । बंगलादेशको ढाकामा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्काउनको लागि अभिभावकहरुले नै सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता सरकारी अधिकारीहरुसँग गरिसकेका छन् । तर, सरकारले भने सकारात्मक रहेको र छिट्टै ल्याउने भनेरमात्रै आश्वासन दिएको र कुनै कार्यान्वनय नगरेकोपनि अभिभावको गुनासो छ ।
कार्यक्रममा बोल्दै अभिभावक विनोद रञ्जितले भने,‘मेरी छोरी बंगलादेशमा अध्ययनरत छिन् । मेरो जानकारीमा त्यहाँ साँढे ६ सय विद्यार्थी छन् । बंगलादेशका विभिन्न क्षेत्रमा गरेर त्यतिको संख्यामा विद्यार्थी छन्, ढाकामा मात्रै छैनन् । अर्को कुरा, अहिलेसम्म नेपाली विद्यार्थीहरु एक जनामापनि कोभिड १९ बाट संक्रमित छैनन् । भोलिको दिनमा भन्न सकिँदैन् । भोलि एक जनामा मात्रै पोजिटिभ भयो भने हाम्रो हालत कस्तो होला ? सरकारले चाँडै ल्याईदिओस् ।’
उनले आफूहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटेको र विद्यार्थी ल्याउनको लागि आग्रह गरेको सुनाए । उनले भने,‘उहाँले पनि ल्याउने कुरा गर्नुभएको छ । हुँदैन् कहिल्यैपनि भन्नुभएको छैन् । ढिलाई नगरे हुन्थ्यो । सरकारी सबै निकाय सकारात्मक छन् । फेरि पनि ल्याउनमा ढिलाई भैरहेको छ । प्रक्रियागत कुरा चाँडै टुँगो लगाएर ल्याउनुपर्छ । चाँडै उद्धार गरे हुन्थ्यो । हामीसँग दिनहुँ हाम्रा छोराछोरी नेपाल झिकाईदिनुहोस भनेर विलौना गरिरहेका छन् ।’
त्यस्तै, अर्का अभिभावक मुकुन्द जोशीले पनि सरकारले बंगलादेशमा रहेका नेपाली विद्यार्थी स्वदेश फर्काउन ढिलाई गर्न नहुने आग्रह गरे । उनले भने,‘मेरो छोरा ढाकामा चिकित्सा शास्त्रमा पोष्ट ग्राजुएशन गरिरहेको छ । लकडाउनका कारण उतै अड्किएको छ । अहिले विद्यार्थीहरुले नेपाल ल्याईदिनुहोस भनेर जुन खालको आग्रह गरिरहेका छन्, सरकारले त्यसलाई सुन्नुपर्छ । उनीहरुले दुई महिनादेखि हामीसँग अनुनय विनय गरिरहेका छन् । बंगलोशमा रहेका नेपाली राजदूतसँगपनि उनीहरुले आग्रह गरेका छन् । अहिलेसम्म सबैतिरबाट आश्वासनमात्रै भेटियो । तर, तुरुन्तै उनीहरुलाई उद्धार गर्ने छाँटकाँट देखिएन् ।’
उनले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु आजसम्म कोही पनि संक्रमित नभएकोले तुरुन्तै उनीहरुलाई उद्धार गर्नुपर्ने आग्रह गरे । उनले थपे,‘विद्यार्थीहरुले निरन्तर रुपमा फेशबुकमार्फत पनि सरकारलाई आफ्ना पीडा र मर्म सुनाईरहेका छन् । सरकारसँग तुरुन्तै उद्धार गरिदिन आग्रह गरेका छन् । मुख्य कुरा, सेप्टेम्बरसम्म बंगलादेशका सबै विश्विद्यालय बन्द गरिएका छन्। अन्य देशका विद्यार्थीहरुलाई ती देशका सरकारले लगिसकेका छन्। अहिले छात्रावासमा हाम्रा विद्यार्थीमात्रै छन् । छोरीहरुलाई झनै डर र त्रास छ । उनीहरु आतंकित छन् । हामीले सरकारसँग निरन्तर हाम्रा विद्यार्थीहरुलाई ल्याईदिन अनुरोध गरेका छौं । तर, सरकराले आश्वासमात्रै दिईरहेको छ । आज २ महिना बितिसक्यो । अहिलेकै अवस्थामा शिघ्र रुपमा उनीहरुलाई नेपाल ल्याईयोस् ।’
त्यस्तै, अर्का अभिभावक डा. मनोजकृष्ण श्रेष्ठले पनि सरकारले बंगलादेशबाट विद्यार्थीहरुलाई स्वदेश फर्काउनको लागि ढिलाई गर्न नहुने बताए । उनले भने, ‘आज यो पत्रकार सम्मेलनमा म पनि आउनुको कारण मेरो छोरा बंगलादेशमा पढ्दैछ । उसले बुवा कहिले हामी घर आउन पाउँछौं भनेर आग्रह गर्छ । यसले हामीलाई भावविह्ल बनाउँछ । बंगलादेशमा रहेका नेपालीको संख्या धेरै कम छ । अहिलेसम्म संक्रमण भएको अवस्था छैन् । डरलाग्दो अवस्थामा त्यहाँ संक्रमितहरु बढिरहेका छन् । त्यसैले अहिले नेपालीहरु संक्रमित नभएकै अवस्थामा उनीहरुलाई स्वदेश फर्काउनुपर्छ । किनकी अहिलेसम्म उनीहरु सुरक्षित अवस्थामा छन् । यही अवस्थामा उनीहरुलाई ल्याउन पाईयो भने राम्रो हुन्छ ।’
उनले नेपाली विद्यार्थीहरुलाई यस्तो अवस्थामा स्वदेश ल्याउनुपर्ने दायित्व सरकारको भएको उल्लेख गरे । उनले भने,‘बंगलादेश धेरै टाढा पनि छैन, धेरै नजिक छ । उनीहरुलाई यहाँ ल्याईसकेपछि क्वारेन्टिनमा राख्ने र उनीहरुलाई व्यवस्थापन गर्ने कुरापनि हामीले गरेका छौं । विद्यार्थीहरु देशको भविष्यको कर्णधार हुन् । यस्तो विषम परिस्थ्तििमा घर फर्किन पाउनु उनीहरुको मौलिक अधिकार पनि भयो । ती विद्यार्थीहरुलाई सुरक्षित रुपमा घर फर्काउनको लागि नेपाल सरकारसमक्ष अनुरोध गर्दछु ।’
डा. त्रिपाठी भन्छन् : सरकारसँग स्रोत र साधनको अभाव होइन, व्यवस्थापनको कमी छ
कार्यक्रममा बरिष्ठ अधिवक्ता एवम् नागरिक समाजका अगुवा डा. दिनेश त्रिपाठीले सरकारले विलम्ब नगरी बंगलादेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनुपर्ने माग गरे । उनले भने,‘बंगलादेशमा रहेका विद्यार्थीहरुको अभिभावकहरुसँगै म पनि यो अभियानमा संलग्न छु । नागरिक अभियानको क्षेत्रमा काम गर्ने व्यक्ति भएको नाताले म आवद्ध छु । धेरै ठूलो संख्यामा नेपालीहरु विदेशमा अलपत्र परेका छन् । उनीहरु सुरक्षित रुपमा देश फर्किन पाउनुपर्छ । म आवाज उठाईरहेको छु । यस्तो बेलामा हामी चुप लागेर बस्न मिल्दैन् । बंगलादेशमा रहेका विद्यार्थीका अभिभावको पीडा सुन्यौं, त्यो एकदमै गम्भिर छ । अभिभावकले ती विद्यार्थीमाथि लाखौं लाख लगानी गर्नुभएको छ । मेडिकल शिक्षाको लागि त्यहाँ पठाउनुभएको छ । यो शिक्षा मुलुकको लागि अति आवश्यक छ । अहिलेको यो प्याण्डेमिकमा उनीहरु त फ्रन्टलाईन वारियर हो, पहिलो पक्तिको मेडिकल प्राफेशन हो ।’
उनले बंगलादेशमा रहेका विद्यार्थीहरुमध्ये अधिकांश त एमडी अध्ययनरत रहेका पनि जानकारी दिए । उनले थपे,‘यो महामारीको बेलामा मेडिकल प्रोफेशनमा भएकाहरु त मुलुकको ईफिसेन्ट म्यानपावर हो, उहाँहरुले पनि योगदान गर्नसक्नुहुन्छ । सरकारले आफ्ना नागकिरहरुलाई ल्याउनुपर्छ । पहल गर्नुपर्छ । हामी मानव अधिकार आयोगमा यही माग बोकेर दुईपटक गयौं । आयुक्तहरुजीसँग छलफल भयो । कुनैपनि नागरिकको संकटको बेलामा आफ्नो दशे फर्किन पाउने अधिकार छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीजी भन्नुहुन्छ हामी फर्काउन सक्दैनौं भन्नुहुन्छ । व्यवस्थापन गर्न सक्दैनौं भन्नुहुन्छ । तर, म भन्छु व्यवस्थापन गर्न सकिन्छ । अलिकति बुद्धि पुर्याए सजिलो हुन्छ । अमेरिका, अष्टे«लिया, र भारत सरकारले आफन नागरिक नेपालबाटसमेत फिर्ता लगिसके । हामीले पाठ सिक्नुपर्छ । तर, हाम्रोमा त सुरुदेखि नै गल्ती भयो । अहिले भारतबाट ठूलो संख्यामा एकैचोटी भित्रिने अवस्था आयो । व्यवस्थित् दृष्टिकोण अगिंकार गरेको भए र राम्रो वातावरण बनाईएको भए आज यो संक्रमण बढ्ने थिएन् । बोर्डर नियमन गरेर ल्याउन सकेको भए सायद यो अवस्थाबाट बच्न सक्थ्यौं ।’
सरकार विदेशमा भएका आफ्ना नागरिकप्रति जिम्मेवार हुनुपर्ने बताउँदै त्रिपाठीले भने,‘सरकार भाग्न मिल्दैन् । हरेक नागरिकको जीवन मूल्यवान छ । विदेशमा अलपत्र परेकाहरुलाई उद्धार गर्न प्रक्रिया सुरु गर्नुपर्छ । व्यवस्थित् योजना हुनुपर्छ । क्लियर रोडम्याप हुनुपर्छ । आज विदेशमा हाम्रा नेपालीहरु दशौं लाख र पन्ध्र लाखको संख्यामा छन् । बंगलादेशमा भएकाहरु मेडिकल प्रोफेशनमा छन् । कुनैपनि नेपाली विद्यार्थी संक्रमित भएको छैन् । यो बेलामा उनीहरु देश फर्कन पाउनु नागरिकको अधिकार हो । सरकारको जवाफदेहिता हो कि उसले उद्धार गरोस । हुन त ती नागरिक आफ्नो मातृभूमि आउँदा सरकारले निःशुल्क व्यवस्थापन गरोस् । आज अरबौं अरब रुपैयाँको भ्रष्टाचार भैरहेको छ । स्रोत र साधानको कमी होईन, पारदर्शीताको अभाव हो । सुशासन कायम गर्नुपर्छ ।’
सम्पत्ति शुद्धिकरण कानूनलाई राम्रोसँग कार्यान्वयन गर्न सकिए नेपाल सरकारलाई स्रोत र साधानको कमी नहुनेपनि उनको तर्क छ । उनले भने,‘हामी आफैं त्यसको खर्च व्यहोर्न तयार छौं भनेर अभिभावले भन्नुभएको छ । आयोगमा, परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदा उहाँहरुले भन्नुभएको छ । विमान भाडा, क्वारेन्टिनको व्यवस्था आँफैं खर्च गर्छौं भन्नुभएको छ। राज्यको शून्य लगानी हुँदैछ, तर उसले ती विद्यार्थीहरुलाई नेपाल ल्याउनको लािग प्रक्रिया सुरु गर्नुर्प । यसमा ढिलाई गर्नुहुँदैन् । सरकारले व्यवस्थापन गर्नुपर्छ । यो गाह«ो काम छैन् । बंगलादेशमा रहनुभएको नेपाली राजदूतसँग मेरो पनि कुराकानी भयो । उहाँले हामी पठाउन सक्छौं भन्नुभएको छ । नेपाल सरकारले एस भनोस भन्नुभएको छ । सरकार निर्दयी हुन मिल्दैन् । संकटकालिन् परिस्थितिमा हरेक नागरिकको सुरक्षा गर्नु उसको कर्तव्य हो । राज्यसँग सुविचारित रणनीति हुनुपर्छ । स्रोत र साधनको लागि अभाव होइन, सरकारसँग व्यवस्थापनको कमी छ । राज्यमा यतिवेला अकर्मण्यता र उदासिनता देखिन्छ ।’
उनले बंगलादेशको सरकारले आगामी सेप्टेम्बरसम्म सबै कलेज बन्द गरिसकेको अवस्था भएकोले नेपाली विद्यार्थी यतिवेला ठूलो मारमा परेको सुनाए । उनले भने, कलेजहरुनै बन्द भएपछि त्यहाँका छात्रावास पनि बन्दप्रायः छन् । हरेक देशले आफ्ना विद्यार्थीहरु लगिसक्यो, तर हाम्रा विद्यार्थीहरु त्यतिकै छोडिएका छन् । कलेज बन्द भएकोले आफ्नो व्यवस्था आफैं गर भनिएको छ । खाना कसले पकाएर खुवाउने ? अहिले बंगलादेशमा जुन लेभलमा संक्रमण फैलिँदैछ, दिनप्रतिदिन हाम्रा विद्यार्थी ठूलो जोखिममा पर्दैछन् । अभिभावकहरुसँग मेरो एक्येबद्धता छ । निरन्तर सरकारलाई दबाब दिनुपर्छ । विद्यार्थी, विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउनु सरकारको आधारभूत जिम्मेवारीभित्रको कुरा हो । सुरुवात बंगलादेशबाट होस् ।