जेठ ११, काठमाण्डौ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सीमा बिषयमाा देखिएको विवाद समाधान गर्न नेपाल सरकारले पटक पटक आह्वान गर्दा पनि भारत वार्तामा बस्न नमानेको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको संघीय संसद अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा उहाले सीमाका नसुल्झिएका बिषयमा छलफल गर्न नेपाल सरकारले आह्वान गरेको वार्ता यसअघि पनि भारतले लत्याएको बताएका हुन् ।
सुगौलीसन्धी बिपरित भारतीय सरकारले नेपालको भूमि आफ्नो क्षेत्रमा राखेर यसअघि नक्सा जारी गरेको मन्त्री ज्ञवालीको भनाई छ । उनले भारतीय सुरक्षाकर्मीलाई बस्न मात्र दिएको यसअघि नै खुलेको भन्दै त्यसकै आधारमा नेपालको भूमिलाइ भारतले कब्जा गर्न नमिल्ने तर्क गरे । उनले कालापानी नेपालको क्षेत्रमा भारतले सडक बनाएपछि नेपाल सरकार गम्भीर भएर नक्सा सार्वजनिक गरिएको बताए । उनले आफ्नो क्षेत्रमा सुरक्षानिकायको तैनाथीका साथ आवश्यक पूर्वाधार बनाउदै जाने धारणा पनि राखेका छन् ।
मन्त्री ज्ञवालीले अहिले पनि नेपालको चाहना कुटनीतिक तवरबाट समस्याको समधान गर्नु नै भएको दोहरउदै अन्य कुनै बिकल्प नसोचेको स्पष्ट पारेका छन् । बैठकमा समिति सदस्यहरुले नेपाल भूमि कब्जा गरेर भारतीय सुरक्षाकर्मी राख्दा मौन रहँदा अहिलेको अवस्था आएकाले सरकारले अव गम्भीर भएर यस बिषयमा समाधान खोज्नुपर्ने बताए ।
छलफलपछि बैठकले कुटनीतिक संवादमार्फत नेपालको भूमि प्राप्त गर्न राष्ट्रिय सहमतिका साथ ठोस पहल अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । त्यस्तै बैठकले विदेशमा समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन निर्देशन पनि दिएको छ ।