Logo

हिमाली जिल्लाका नागरिक उत्पादनमा व्यस्त



काठमाडौँ, १२ जेठ । लकडाउनका कारण अधिकांशको जनजीवन अस्तव्यस्त बनेको छ तर हिमाली जिल्ला सोलुखुम्बुवासीलाई भने लकडाउनले खासै प्रभाव पारेको छैन ।

लकडाउनको समयले यहाँका मानिसलाई थप सिर्जनशील बनाएको स्थानीय नागरिकको भनाइ छ । विगत दुई वर्षदेखि अध्ययनको सिलसिलामा काठमाडौँ बस्दै आएका महाकुलुङ गाउँपालिका पेल्माङका सुरेश कुलुङ अहिले गाउँघरमै भेटिए । उनी यतिबेला गफ गर्नेसम्म फुर्सद नभएको बताएका छन् । राजधानी पसेपछि गाउँघर भुलिसक्नुभएका कुलुङलाई कोभिड–१९ ले पुनः गाउँनै आउन बाध्य बनाएको सुनाए ।

माध्यमिक तहसम्मको अध्ययन गाउँमै पूरा गर्नुभएका सुरेशलाई अहिले बाबुबाजेको पेशा कृषि कर्मले व्यस्त बनाएको छ । दिन प्रतिदिन लकडाउन बढ्दै गएपछि समयको सदुपयोग गर्न धेरैलाई सकस भइरहेको भए पनि आफ्नो लागि यो समय उपलब्धिमूलक बनेको उनको भनाइ छ । महाकुलुङका सुरेशलाई मात्र होइन सोलुखुम्बुको अधिकांश गाउँका मानिसलाई लकडाउनको बेला न त समय बिताउन समस्या छ न त अन्य कुनै कुराको ।

माप्य दूधकोशी काकुका ल्हाक्पा तामाङ पनि तीन वर्ष मलेशिया बसेर केही महिना अगाडि मात्रै गाउँ आएको बताएका छन् । । वैदेशिक रोजगारीमा हुँदा बाँझो बनेको उनको खेतीयोग्य जमीनमा विभिन्न तरकारी तथा फलफूलको बिरुवाले भरिन थालेको छ । अम्बा, कफी, खुर्सानी, चियाजस्ता बोट बिरुवा रोप्ने, अन्य खेतीबाली गोडमेल गर्दै लकडाउनको समयको सदुपयोग गरेको उनको भनाइ छ । (रासस )



प्रतिक्रिया दिनुहोस्