Logo

तोरी तेल उद्योग ठप्पको स्थितिमा



काठमाडौँ, १३ जेठ । आयातित कच्चा तोरी प्रशोधनमा निर्भर सुनसरी–मोरङ करिडोरका तेल उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

तेस्रो मुलुक र भारतबाट कच्चा आयातमा समस्या परेपछि लामो बन्दाबन्दीको असर तेल उद्योगमा देखिन थालेको हो । कच्चा अभावकै कारण विराटनगर–४, खारजीमा रहेको श्याम एग्रो इन्डस्ट्रिज भने बन्द भएको छ । त्यसबाहेक अन्य उद्योगलाई समेत कच्चा अभावको प्रभाव पर्दै गएको सम्बन्धित उद्योगीको भनाइ छ ।

श्याम एग्रोका सञ्चालक जीवन रिजालले तोरी आयातमा समस्या भएका कारण तत्काल उद्योग बन्द गर्नुपर्ने अवस्था आएको जानकारी दिएका छन् । दैनिक १५ टन तोरी प्रशोधन गर्दै आएको उद्योग बन्द हुनुपर्ने कारणबारे सञ्चालक रिजालले क्यानडा, युक्रेन र अस्ट्रेलियाबाट पछिल्लो बन्दाबन्दीसँगै कच्चा आयात गर्न नसकिएको बताएका छन् । यसैगरी भारतमा समेत ठूला मन्डी बन्द गराइएका कारण तोरी आयातमा समस्या परेको हो ।

अर्डर गरिसकिएको २५ कन्टेनर तोरी आउन नसक्दा उद्योग बन्द हुने अवस्था आयो, रिजालले भने, “कोलकाता बन्दरगाहमा समेत समस्या परिरहेको छ । ” विराटनगरकै चन्द्र शिव राइस मिलका सञ्चालक नरेश राठीका अनुसार कच्चा बोकेको जहाज कोलकाता बन्दरगाहमै धेरै दिनसम्म अड्किएर रहेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्