Logo

सुक्यो चैते धानको बाला



काठमाडौँ, १३ जेठ । झापाको गौरादह नगरपालिका–४, मजुवाकी किसान बालिका दाहालले एक बिघा क्षेत्रफलमा चैते धान लगाएका छन् । रोपिएको धानको बाला लपक्क नुहिएका छन् ।

फलाइ हेर्दा धान राम्रो हुने आशा थियो तर नुहेको बाला अचानक सुक्न थाल्यो । पहिलो दिन एक/दुईवटा मात्र बालामा यस्तो समस्या आएको थियो । दोस्रो दिन दुई तिहाइ बाली त्यस्तै भयो । तेस्रो दिन त पूरै खेतको धानको बाला सुकेर सेतै भयो ।

उनको जस्तै यो क्षेत्रका लगभग १५ घरपरिवारले ५० बिघा क्षेत्रफलमा लगाएको धान अहिले यस्तै अवस्थामा पुगेको छ । चैते धान काट्न हँसिया बोकेर खेतमा जाने बेलामा किसान अहिले आगो बोकेर डढाउन जानुपर्ने अवस्था आएको सोही क्षेत्रका अर्का किसान पर्शुराम धमलाले बताएका छन् । थन्क्याउने बेलाको बाली खेतमा सुकेर गएपछि किसानमा चिन्ता थपिएको छ ।

यो क्षेत्रका अधिकांश किसानको चैते धानमा अहिले बाला सुकेर जाने समस्या आएको छ । धानको डाँठमा कालो हुने र त्योभन्दा माथिको भाग सुक्ने गरेको सोही स्थानका किसान मचिन्द्र कार्कीले जानकारी दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्