काठमाडौं, जेठ १३ । कोरोना भाइरसको संक्रमण बढेपछि शुरू भएको लकडाउनको अवधिमा सर्वोच्च अदालतले इमेलमार्फत म्याद पठाउने र लिखित जवाफ मगाउने प्रक्रिया शुरू गरेको छ । यो व्यवस्था सर्वोच्च अदालत नियमावलीमा भए तापनि लकडाउनअघि यसको प्रयोग भएको थिएन ।
लकडाउन शुरू भएको ५०औं दिनपछि सर्वोच्च अदालतले रिट निवेदनका विपक्षीहरूलाई इमेलमार्फत लिखित जवाफ पठाउन आदेश दिएको हो । यसै गरी सर्वोच्चले इमेलमार्फत नै आदेश र रिट निवेदनको प्रतिलिपि पठाउन सर्वोच्चको प्रशासनलाई आदेश दिन थालेको छ ।
सर्वोच्चका उपरजिस्ट्रार गोपाल थापाले इमेलमार्फत म्याद पठाउने र इमेलमार्फत नै लिखित जवाफ पठाउनका लागि इजलासबाट आदेश हुन थालेको नेपाल समाचारपत्रलाई जानकारी दिए । उपरजिस्ट्रार थापाले शुरूमा काभ्रेपलाञ्चोक जिल्लामा इमेलमार्फत म्याद पठाएको र इमेलमार्फत नै लिखित जवाफ मगाउन आदेश भएको उल्लेख गरेको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।