काठमाडौं, १३ जेठ । देशमा एकै दिन ९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जेठ महिनाभर संक्रमित संख्या ह्वात्तै बढेको छ ।
३१ वैशाखमा विना कसैको मृत्यु २४३ कुल संक्रमित संख्या भएकोमा जेठमा संख्या बढेर तेब्बर भएको छ । आज साँझसम्म कोरोना देशभर संक्रमित संख्या ७७२ पुगेको छ । बितेको १३ दिनमा ५२९ कोरोना संक्रमित बढेका छन् । जसमध्ये ४ जनाको मृत्यु भइसकेको छ ।
कोरोना भाइरसका संक्रमित १३ दिनमा तेब्बर बढ्नु भनेको महामारी भयावह बन्नु हो । यही गतिमा वृद्धि भए अबको केही दिनमै संक्रमित संख्या हजार कट्नसक्छ । जेठभरी हजारौंको संख्यामा संक्रमित हुने खतरा पैदा भएको छ ।
भारतमा रोजगारी तथा अन्य कामले पुगेकाहरु धमाधम फर्किन थालेपछि संक्रमित संख्या बढेको हो । क्वारेन्टाइनमै रोग फैलिएको पत्ता लागेको छ । जसमध्ये बाँकेको नरैनापुर र रौतहटमा जोखिम उच्च देखिएको छ ।
सरकारले तेस्रो मुलुकमा अलपत्र परेका नेपालीलाई ल्याउने तयारी थालेको छ । यसले पनि कोरोना भाइरसको संक्रमित बढ्ने सम्भावना रहेको छ ।
क्वारेन्टाइनमै सिकिस्त विरामी भई एकजना युवक अस्पताल लगिएपछि ज्यान गुमाउन पुगेका छन् । उनको कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
बाँके, पर्सा, कपिलवस्तु, झापा, रौतहटमा कोरोना भाइरसका संक्रमित निकै बढेका छन् । प्रदेश ५ मा देशका कुल संक्रमितमध्ये ४० प्रतिशत रहेका छन् । संक्रमित बढेपछि राख्ने ठाउँ अभाव हुन थालेको छ ।