Logo

आइएफसीले साना तथा मध्यम व्यवसाय प्रवद्र्धनमा सघाउने



काठमाडौँ, १३ जेठ : विश्व बैंकअन्तर्गतको आइएफसी ले कोभिडबाट सिथिल नेपाली निजी क्षेत्रलाई गतिशील बनाउन आवश्यक भूमिका खेल्ने जनाएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आयोजना गरिएको वेविनारमा बोल्दै आइएफसीका नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजर वेण्डी वर्नरले सो कुरा बताउनुभएको हो ।

कोभिड–१९ को कठिन परिस्थितिमा नेपालका निजी क्षेत्रको भूमिका र आइएफसीका आगामी कार्यक्रम शीर्षकमा बोल्दै उहाँले यस्तो अवस्थामा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो । कोभिडको शुरुवातबाट नै नेपालका पर्यटनलगायत सेवा क्षेत्र धराशायी भएको बताउँदै उहाँले यसको असर भविष्यमा पनि केही समय रहिरहने उल्लेख गर्नुभयो ।

नेपालमा निजी क्षेत्रको इक्विटी लगानीकर्ताका रुपमा मात्र नभइ आइएफसीले बृहत्तर रुपमा सहयोगीको भूमिका खेल्ने वर्नरले बताउनुभयो । आइएफसीले विश्वव्यापी रुपमा कोभिडबाट आर्थिक क्षतिसँग जुध्न कुल ४८ मिलियन अमेरिकी डलरको प्याकेज अघि सारेको छ । यसबाट तीन सय सङ्घ संस्थालाई प्रत्यक्ष रुपमा सहयोग उपलब्ध गराइरहेको छ ।

नेपालमा निजी क्षेत्रबाट सञ्चालित बैंक र लघुवित्त कम्पनीलाई आइएफसीले सहयोग गर्दै आइरहेको छ । यस वर्ष साना तथा मध्यम व्यवसायलाई पनि सहयोग उपलब्ध गराइने वर्नरले उल्लेख गर्नुभयो । कोभिडबाट थलिएको अर्थतन्त्रमा यस्ता व्यवसायले रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । यस वर्षको अन्तिमसम्म आइएफसीको नेपालमा ०.५ अर्ब अमेरिकी डलरको लगानी पुग्ने बताइएको छ । सन् २०२३ सम्ममा आइएफसीले नेपालका निजी क्षेत्रमा १.२ अर्ब लगानीको लक्ष्य राखेको छ ।रासस File photo



प्रतिक्रिया दिनुहोस्