Logo

जङ्गलमै बास बसेर पदमार्ग खन्दै गुर्जावासी



काठमाडौँ, १४ जेठ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका बीच म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पदमार्ग निर्माण भइरहेको छ ।

गुर्जाका बासिन्दा विभिन्न दुःख, कष्ट र अप्ठ्यारा सहदै जङ्गलमै बास बसेर पदमार्ग निर्माण गरिरहेका छन् । गुर्जादेखि लत्रवाङ धुर्म फोल्टिङखोला (तातोपानी) देमुको भिर अर्चे हुँदै मुदी जोड्ने पदमार्ग खन्न स्थानीयवासी दुई महिनादेखि जङ्गलमै बसेर काम गरिरहेका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताएका छन् ।

प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको पहलमा पर्यटन मन्त्रालयले विनियोजन गरेको रु पचास लाख बजेटबाट गाउँपालिकाले उपभोक्ता समितिमार्फत पदमार्ग बनाउन लागेको हो । दैनिक ७० देखि ८० मजदुर परिचालन गरेर पदमार्ग निर्माण भइरहेको वडाध्यक्ष छन्त्यालले बताएका छन् । बाउसो, गैँची, बेल्चा, गल, धन, कुटो र कोदालो प्रयोग गरी मजदुर परिचालन गरेर पदमार्ग निर्माण गर्न लागिएको हो ।

छ किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्य रहेकामा गुर्जाबाट चार किलोमिटर खनिसकिएको उपभोक्ता समितिका अध्यक्ष प्रेम छन्त्यालले बताएका छन् । मजदुरहरुका लागि काम गर्ने ठाउँमै खाद्यान्न र बस्दोबस्तीका सामान लगिएको छ । पाल टाँगेर र गोठ हालेर जङ्गलमै बसेका छन् । कोही ओढारमा पनि बसेका छन् । बस्तीदेखि टाढाको जङ्गलमा पदमार्ग निर्माण गर्नुपर्ने भएकाले काम गर्ने ठाउँमै बास बस्नुपरेको हो ।

लकडाउनका कारण धेरै ठाउँमा रोजीरोटी गुमेर मजदुर र विपन्न समुदाय समस्यामा परे पनि गुर्जाका बासिन्दाले गाउँमै रोजगारी पाएका छन् । चैत २१ गतेबाट पदमार्ग निर्माण शुरु भएको थियो । जङ्गलमै क्वारेन्टिन बनाएको हिसाबले सामाजिक दूरी कायम र स्वास्थ्य सतर्कता अपनाएर स्थानीय मजदुर परिचालन गरिएको उपभोक्ता समितिले जनाएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्