Logo

पर्खाल



दिलीप बावु शिवा

दिलीप बावु शिवा

म सानै थिए,
सानो हुदाको स्मृति
धमिलो धमिलो छ मेरो मनमा
मेरी आमा हरेक बिहान मन्दिर जान्थिन
दुई थुंगा फुल,
फुलका पात,
कलशमा पानि,
पुजाको थालि
देवता सजाउने र देउता रिझाउन
सर-सामान सबै समेटेर
घाम ब्युझिनु भन्दा पहिले
भाले उठ्नु भन्दा पहिले
शित सुक्नुभन्दा पहिले
मन्दिरको पुजारी बाजेले शंख फुक्नु भन्दा पहिले
कसैले देख्नुभन्दा पहिले
मेरी आमा मन्दिर जान्थिन।

मन्दिर पर्खालहरुले घेरेको
फलामे ढोकाले थुनिएको थियो।
जुन ढोका
मेरी आमाको लागि कहिल्यै खुलेन!
न नै आट गरिन मेरी आमाले
पर्खाल नाघेर मन्दिरका देउता पुज्ने।

मेरी आमा मेकअप बक्स बोकेर
दूलहि सजाउन हिडेकि ब्यूटिसिएन जस्तै
हरेक बिहान
पुजा थालिमा रंगहरु लिएर
मन्दिर जाने नाउमा
मन्दिरको ढोकालाई पुजेर फर्किन्थिन।
ढोका पुज्नु र देउता पुज्नुको फरक के थियो?
त्यति बेला मलाई थाहा थिएन!
किन कि म त सानै थिए।

बिस्तारौ म ठुलो हुदै गए,
जुंगाको रेखि बस्न थाल्यो,
खोपडिमा मगज पस्न थाल्यो,
बिस्तारै बिस्तारै समाज पनि बुझ्न थाले।
मेरो स्थान,
मेरो अस्तित्व
र मेरो जात बुझ्न थाले।
मलाई थाहा भयो;
मेरो आमाको लागि नखुलेको फलामको ढोका
र मेरी आमाले नाघ्न नसकेको पर्खाल
तथाकथित ठुला जातहरुको मन्दिरको रहेछ।
जहा मेरो जातलाई
जन्मजात प्रवेश निषेध गरिएको रहेछ।
मेरो हातले छुदा
सायद
भगवानको पनि जात जादो रहेछ।
के थियो त्यस्तो मेरो हातमा
मलाई थाहा थिएन
किनकि मेरो आखाले
मेरो हात कसैको हात भन्दा
भिन्न देख्दैन थियो।

ए! तथाकथित ठुला जातका मान्छे!
सत्य सुन्न सक्छौ भने सुन
सायद तिम्रा आखाले नदेखेको
पर्दा पछाडिको सत्य म भनिदिन्छु।

तिम्रो मन्दिरमा
भगवानको मूर्तिलाई ढाकेको
रातो घुम्टोको फेर
मेरा बाउले
थुक लगाई लगाई
सियोमा उनेको धागोले सिएका हुन।
मलाई आश्चार्यले लाग्छ
तिम्रो भगवान चोखो छ भने
मेरो बाउ जुठो कसरी?
मेरो बाउ जुठा हुन भने
तिम्रो भगवान चोखो कसरी?

अझै सुन!
त्यो भगवान, भगवान हुनु पहिला
एउटा ढुंगो थियो।
जसलाई मूर्तिकारले
दुईखुट्टामा च्यापेर,कूल्चेर
छिनो र घन ठोकि ठोकि
चुटिचुटि..पिटि पिटि
तिम्रोले पुजा गर्नमिल्ने भगवान बनाईदिएको हो।
जसमा आज तिमि
फुल चढाउछौ, दुध चढाउछौ।
नपुगेर शिर नै घोपट्याउछौ।
ल अब भन!
माथिल्लो तिमी कि मूर्तिकार?
तराजुमै तौलिने हो भने त
आखिर तिमीभन्दा ठुलो
छिनो र घन बनाउने मान्छे रहेछ!

भगवानकै अदातलले पनि
तिमी
जन्मसिद्ध ब्राम्हण बन्ने अधिकार
र म
सुद्र बन्नुपर्ने
सजाय तोकेको छैन
बराबर छौॅ तिमी र म
भगवानको तराजुमा।

तिमीले पवित्र भनेका मन्दिर
तिमीले चोखो भनेको सुन-पानी
तिम्रो पेट देखि प्रतिष्ठा सम्म
तिम्रो आखाले देख्ने जहा त्यहि
तिमीले बर्षौ बर्ष देखि
दलेका-दबाएका र देख्न नसकेका
शिल्पिहरुको अमिले पसिना मिसिएको छ।
के आफ्नै छाला ताछेर
सक्छौ आफुलाई चोख्याउन?
सोघ्ने नै हो भने
प्रश्न हजार छन, हजार
र तिमीसॅग
त्यसको उत्तर
शिर निहूर्याउनु बाहेक केहि हुनेछैन।
तिमीले नलेखिदिएको
बिसे नगर्चिको ईतिहास
तिमीले नबताएको
बाङ्गे शार्कीको स्वाभिमान
समय आफैले उदिनेर बाहिर ल्याउनेछ।

शास्त्रलाई गलत अर्थ्याएर
समाजलाई असत्य पढाएर
तिमिले खडा गरेको बिभेदको पर्खाल
जसको एकातिर तिमि
उज्यालो संसारमा छौ र
त्यसैको अर्को तिर म अन्ध्यारो संसारमा।
बर्षौ बर्ष देखि
खै कति पूस्ता देखि
तिमीले तल खसालेको
बाटोमूनीको फुल
आज तिमी संग आखामा आखा जुधाअर
सह-अस्तित्वको सौदावाजि गर्दैछ।
अब त कानुनको धाराले दिन्छ मलाई
तिम्रो कठालो समात्न
र तिमीले खडा गरेको पर्खाल तोड्न।
तर अझै पनि म चाहान्छु।
कतै एक झिल्को आगो नबलोस
कसैको एकथोपा रगत नबगोस।

युगौ युग देखि
एक-अर्काको परिपुरक भएर
बाचेको हाम्रो ईतिहासलाई साक्षि राख्दै
तिम्रो समझदारीमा
मेरो सौहार्दता मिसिएर
आउ मिलेर तोडौ यो पर्खाल
र गरौ एक अर्कालाई अकंमाल।
मेरी आमाका लागि हिजो नखुलेका
मन्दिरका ढोका
आज मेरी दिदिका लागि
बिनाशर्त खुलुन,
ताकि!
कमल चलाउन जानेकी
पटक-पटक मसाल उठाएकी
र परिआए बन्दुक चलाउने हिम्मत बोकेकी
मेरी दिदिले
तिम्रो भगवानलाई भेट्न
पर्खाल नाघेर जान नपरोस
पर्खाल तोडर जान नपरोस।।

दिलीप बावु शिवा
गौरादह- झापा



प्रतिक्रिया दिनुहोस्