Logo

हजुरआमाको सीपले आर्जेको आय



काठमाडौँ, १७ जेठ । सत्तरी काटेपछि ज्येष्ठ नागरिकले काम गर्नु हुन्न भन्ने भनाइलाई चुनौती दिँदै ७० वर्ष उमेर काटेका हजुरआमाले जानेको सीप उपयोग गरी कमाइ गर्न थालेका छन् ।

आफ्ना नाति नातिनीका लागि मात्रै लुगा, मोजा वा कुनै पनि सरसामान बनाउँदै आउनुु भएकोमा अब उनीहरूले अरूका लागि पनि बनाउन थालेका छन् । डल्लु निवासी ८० वर्षीय रामकुमारी श्रेष्ठले ढाकाको रुमाल बनाएका छन् । आफूूमा भएको सीपले यो उमेरमा पनि आम्दानी गर्न सकेकोमा उनी दङ्ग छन् । खाली समयको उपयोग हो, श्रेष्ठले थपे, ‘बन्दाबन्दीको समयमा सबै घरमा हुने भएकाले मैले जानेको सीप परिवारका सदस्यलाई पनि सिकाइ दिएकी छु । ’

उनी मात्र होइन डल्लु निवासी पञ्चरत्न ताम्राकारले स्वयम्भू, पञ्चबुद्ध र धर्मचक्रका साना–साना आकृति बनाउने गरेका छन् । यस्तै, लुभुकी राममाया महर्जनले परालका सुकुल र मुडा, एकान्तकुनाकी सिरो मोक्तानले बिरुवा झुन्ड्याउने ह्याङ्गर र गणबहालकी दिलहीरा तुलाधरले बालबालिकाका पहिरन सिलाने गरेका छन् । यस्तै, ८४ वर्षीया दिलहीरा तुलाधरले सिलाउनु भएको ढाकाको ब्ल्याङ्केट गर्मी महिनामा पनि बालबालिकाका लागि उपयोगी हुन्छ । उनले भने, ‘‘पैसाभन्दा पनि आफूूमा भएको सीपलाई जोगाएकी हुँ, अलि कमाइ पनि हुने, आफूूलाई यो काममा खुुसी राखेकी छु । ’’

७६ वर्षीया चम्पादेवी मोजा बुन्ने गर्छन् तर ती कसैका लागि उपहार होइन, त्यो उनका लागि आयस्रोत बनेको छ । आफ्नी हजुरआमाजस्तै अरू ज्येष्ठ नागरिकका वर्षौंका अनुभवलाई सँगालेर उनीहरूलाई आर्थिक रूपमा समेत सबल बन्न सहयोग गर्न स्थापितले अरू मानिसलाई पनि यस उद्यममा समावेश गर्ने सोचेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्