Logo

बजेटमा विद्युत् : एक हजार तीन सय मेगावाट थपिने



काठमाडौँ, १७ जेठ । आगामी आर्थिक वर्षमा थप एक हजार तीन सय मेगावाट ऊर्जा राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने योजनाका साथ आगामी वर्षको बजेट सार्वजनिक भएको छ ।

आगामी वर्ष सरकारले ‘मिक्स इनर्जी’को अवधारणाअनुरूप जलविद्युत्, सौर्य, वायु तथा वैकल्पिक ऊर्जाको आयोजनालाई एक साथ विकास गर्ने भएको छ । कोरोनाबाट प्रभावित अवस्था हेरेर सरकारले मासिक १० युनिट खपत गर्ने परिवारलाई निःशुल्क, १५ युनिट खपत गर्नेलाई २५ प्रतिशत र १५० युनिट खपत गर्ने परिवारलाई १५ प्रतिशत महसुलमा छुट दिने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार सार्वजनिक गर्नुभएको बजेट वक्तव्यमा यो लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ । सरकारी लगानी भएका माथिल्लो तामाकोसी, रसुवागढी, माथिल्लो साञ्जेन, मध्यभोटेकोसी लगायतका जलविद्युत् आयोजना सम्पन्न गर्नका लागि पर्याप्त बजेट विनियोजन गरिएको छ ।

दूधकोसी जलाशययुक्त आयोजना विभिन्न चारवटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको संयुक्त लगानीमा निर्माणका कार्य अघि बढाइने र ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमलाई जनस्तरसम्म विस्तार गरिने भएको छ । सो कार्यक्रमअन्तर्गत माथिल्लो अरुण, किमाथाङ्का, फुकोट कर्णाली, चैनपुर सेती, तामाकोसी ५, जगदुल्लालगायतका आयोजनाको निर्माण प्रक्रिया अघि बढाउनका लागि बजेट व्यवस्था गरिएको छ । (गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्