Logo

नेकपा सचिवालय बैठकमा किन डाकिए अर्थमन्त्री खतिवडा



काठमाडौं, १७ जेठ । नेपाल कम्युनिस्ट पार्टीको सचिवालयमा नौ सदस्य छन् । बैठकमा उनीहरुमात्र बस्छन् । कहिलेकाहीं आवश्यकता अनुरुप स्थायी समिति सदस्यहरुलाई पनि आमन्त्रित रुपमा डाकेर राखिन्छ । जसरी भीम रावल र प्रदीप ज्ञवाली बसेका थिए । तर, यसपटक नेकपाको कुनै कमिटिमा नभएका युवराज खतिवडा सचिवालय बैठकमा सहभागी भए ।

आज बसेको सचिवालय बैठकमा स्थायी समिति सदस्यहरु भीम रावल र प्रदीप ज्ञवालीका अलावा खतिवडा पनि सहभागी थिए । बैठकमा एमसीसी बजेटमा घुसाइएपछि गम्भीर छलफल भएको थियो । अर्थमन्त्री रहेका खतिवडालाई प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले जवाफका लागि डाकेका थिए ।

बैठकमा सचिवालयका अधिकांश सदस्यहरुले एमसीसी संसदबाट पारित नै नभएको अवस्थामा बजेटमा किन घुसाइएको भनी प्रश्न गरेका थिए । स्रोतका अनुसार खतिवडाले एमसीसीको आवश्यकता र औचित्यबारे प्रष्टाउन खोजेका थिए । परराष्ट्रमन्त्री समेत रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले पनि एमसीसी संसदबाट पारित गर्नुपर्ने र हुने भन्दै बजेटमा समावेश गरिएकोमा बचाऊ गरेका थिए ।

उपाध्यक्ष गौतमले बजेट कानुन भएकाले पार्टीमा छलफल नभई घुसाउने भनी कडा रुपमा बोलेका थिए । पार्टीमा निर्णय नगरी जथाभावी गरेको भन्दै अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको समेत आलोचना गरेका थिए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायाणकाजी श्रेष्ठले पार्टीमा कुनै निर्णय नगरी जथाभावी गर्न खोजेको भन्दै अध्यक्ष ओलीसँग असन्तुष्टि व्यक्त गरेको बुझिएको छ ।

खतिवडालाई सचिवालय बैठकमा डाकेर ओलीले आक्रोश उनीतिरै तेर्साउन खोजेको देखिएको छ । ओलीकै गृहजिल्ला झापाका खतिवडा राजनीतिक पृष्ठभुमीका होइनन् । उनी पूर्व गभर्नर हुन् । ओलीले रुचाएकाले उनी सबैलाई आश्चर्यमा पार्दै अर्थमन्त्री बनाइएका थिए ।



प्रतिक्रिया दिनुहोस्