शोभा पाठक: धेरैलाई राम शब्द व्यक्तिको नाम लाग्न सक्छ । यो शब्द रामायणमा उल्लेख भएका अयोध्याका राम जन्मनुभन्दा अगाडि देखिको हो । तन्त्रशास्त्रमा उल्लेख भए अनुसार रामकोअर्थ कल्याणकारी, अग्नि एवं प्रकाश हो । अर्थात् कल्याण गर्ने, अग्नि जस्तै उज्यालो र ज्वाजल्यमान रामको पर्यायवाची हो ।
राम शब्दमा राज्यलाई जोड्दा रामराज्य हुन्छ । यसको अर्थ कल्याणकारी राज्य हुन्छ । कल्याणकारी राज्यमा लोकको हितमा राज्य समर्पित हुन्छ । राज्यले लोकको हितलाई नै आफ्नो हित ठानेर सामाजिक विकासमा अत्याधिक ध्यान केन्द्रित गर्दछ । अर्थात् लोकको हितलाई सर्वोपरी ठानेको हुन्छ । युरोपका स्क्यान्डेनेभियन देशहरुलाई लोक कल्याणकारी राज्य मानिन्छ । त्यहाँ समाज केन्द्रित लोक कल्याणकारी कामहरु बढी हुन्छन् ।
रामायणमा उल्लेख भए अनुसार अयोध्याका राजा दशरथका पुत्र रामले बाबुको आज्ञापालन गर्न १४ वर्ष बनवास गएका थिए । पछि बनबासबाट फर्किएर राजा भएका उनले लोकको चाहना र भावनाको कदर गर्न परिवार समेत त्यागेका थिए । उनले आफूभन्दा माथि जनताको भावनालाई राखेर व्यक्तिगत चाहनालाई बलिदानी दिएका थिए । सत्यका लागि उनले आफूलाई समेत बलिदान गर्ने गरी राज्य संचालन गरेका थिए । कुनैपनि नागरिक अन्यायमा नपरुन् र न्यायसंगत राज्य संचालन होस् भनी गम्भीर थिए । त्यसैले आज पर्यन्त रामराज्य शब्द चलनचल्तीमा छ । यतिसम्मकी २१ औं शताब्दीमा रामराज्य सम्भव छैन भन्ने गरिन्छ । किनकि रामले राज्य चलाउँदा आफू र आफ्नो परिवारभन्दा माथि उठेर जनताको चाहना र भावनालाई सर्वोपरी ठानेर चलाएका थिए ।
ओली युगमा देश
अहिले देशमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । उनी आधुनिक नेपालको इतिहासमा सबैभन्दा बलिया लोकतान्त्रिक सरकारका प्रधानमन्त्री हुन् । ओलीसँग स्पष्ट बहुमत मात्र छैन पार्टीमा बलियो पकड पनि छ । ओली सरकार ढाल्ने अस्त्रहरु पटक पटक विफल भए । यसबाट पनि उनी शक्तिशाली बन्दै गरेको पुष्टि भएको छ ।
ओलीको साँढे दुई वर्ष कार्यकालमा प्रतिपक्षीहरु पनि निकै कमजोर भएका छन् । यसबाट उनलाई काम गर्न सक्ने प्रशस्त अवसरहरु छ । उनको देवत्करण समेत गरिएको छ । यो देशलाई समृद्ध बनाउलान्, रामराज्य नै बनाउलान् भन्ने सम्म जस्तो गरिएको छ । उनले देखाउने सपनाहरु पनि त्यस्तै हुन्छन् । रेल, पानीजहाज, ग्याँस पाइपलाइन, आदि । ओलीको बोलीमा जति दम छ काममा उत्तिनै सुस्तता देखिन्छ । उनको कार्यकालमा एकपछि अर्को चुनौतीहरु आएका छन् । चाहेर र नचाहेर उनी बारम्बार अलमलिंदा उनले अपेक्षित कामहरु गर्न सकेका छैनन् ।
देशमा बेरोजगारी व्याप्त छ । युवाहरु विदेशिन वाध्य छन् । देशभित्र भएकाहरु पनि बेरोजगारको समस्यामा छन् । रोजगारीका पर्याप्त अवसरहरु सृजना हुन सकेका छैनन् । यसले भविष्यमा युवामा विचलन आई सामाजिक तथा आर्थिक समस्याहरु बढ्ने खतरा छ ।
सामाजिक सुरक्षामा ओलीले विशेष ध्यान दिएका छन् । यो निकै लोकप्रीय बनेको छ । तर, कार्यान्वयनमा चुनौती छ । वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्ताले निरन्तरता नै पाएको छ । तर, महङ्गो स्वास्थ्य सेवाले जनता प्रताडित छन् । शिक्षा पनि उत्तिकै महङ्गो भएको छ । सामान्य जनताका लागि उच्च शिक्षा तथा आकर्षक मानिएका शिक्षा लिन कठिन भएको छ । यसतर्फ केही कामहरु भएपनि अपेक्षित प्रगति हुन सकेको छैन ।
अहिले देशमा कोभिड १९ को चुनौती छ । विश्वमहामारी बनेको कोरोना भाइरससँग लड्दा सरकारका कतिपय कदमहरु विवादमा परे । तर, त्यसलाई सच्याएर अगाडि बढ्न ओली सफल भएका छन् । लकडाउनका समयमा केही विवादास्पद कमहरुले चुनौतीको सामना गर्न पुगे । त्यसबाट पार पाएका छन् । तर, जनताले राहतको महशुश गर्न नसक्दा असन्तुष्टि व्याप्त छ । लोककल्याणकारी राज्य र राज्य संचालकले निभाउनुपर्ने दायित्वबाट पन्छन खोजेको देखिन्छ । निःशुल्क कोरोना टेष्ट भएपनि क्वारेन्टाइनमै संक्रमित भएर जनताको ज्यान गएका तथ्यहरुले पुष्टि गरेको छ । क्वारेन्टाइन कोरोना कारखानामा परिणत भएका छन् । यसमा सरकार चुकेको छ ।
कोभिड १९ ले विश्वभर खाद्यान्न संकट पर्नसक्छ । त्यसका लागि किसानहरुलाई प्रोत्साहित गरी कृषि कर्ममा जोड दिन सक्नुपर्छ । तर, मलखादको अभाव हुन थालेको छ । कृषक उत्साही हुन नसके देशले ठुलो खाद्य संकटको सामना गर्नुपर्ने हुनसक्छ । यसतर्फ सचेत हुन आवश्यक छ । ओली सरकारले यसतर्फ तत्काल कदम चाल्नुपर्छ । तर, सरकारको ध्यान त्यसतर्फ गएको देखिदैन ।
ओलीको कार्यकालमा राष्ट्रियताको सवाल जोडतोडले उठेको छ । सिमा विवादमा नेपालले नयाँ नक्शा जारी गरेको छ । यो संसदमा पेश भइसकेको र पारित हुने निश्चित छ । सिमा नक्शा त बन्यो तर नेपालको भुभाग प्राप्त हुने नहुनेमा आशंका अझै छ । देशमा भएका चर्का कुराले अहिले नै कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले छाडिसकेको जस्तो गरिदैछ । तर, यो सजिलो छैन । त्यसका लागि कुटनीतिक चार्तुयता आवश्यक छ । ओलीले त्यो चार्तुयता देखाउन सक्ने हुन् होइनन् प्रतिक्षाको विषय छ । अमेरिकी च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट पारित गर्नुपर्ने हुन्छ । असारको मध्यसम्ममा पारित नगरे यो कार्यान्वयन हुँदैन । तर, एमसीसी सार्वभौमिकतामा आँच आउने खालको छ भनी नेकपाकै नेताहरुले बोलिरहेका छन् । एकातर्फ, नयाँ नक्शा जारी गरेर ओलीले वाइवाइ कमाएका छन् अर्कोतर्फ एमसीसी पारित गर्न लागिपरेकाले उनको राष्ट्रवादमाथि प्रश्न उठाइएको छ । एमसीसी ओली सरकारका लागि अवसर मात्र नभई जोखिम समेत बनेको छ ।
अन्तमा ओलीका सामु ऐतिहासिक अवसर आएको छ । उनले लोककल्याणकारी राज्य कस्तो हुन्छ भनी प्रमाणित गर्न सक्छन् । धेरै काम गर्ने अवसर छ । देशवासीलाई आफ्नै सन्तान ठानेर समानता र न्यायोचित तरिकाले कल्याणकारी कार्य गर्न सक्छन् । यसमा उनको इच्छशक्तिले मात्र पुग्दैन सुझबुझ, विवेक र चार्तुयता पनि आवश्यक पर्छ । लामो राजनीतिक आरोह अवरोहले परिपक्व बनेका ओलीमा आत्मबल उच्च छ भने निडर पनि छन् । उनका यी विशेषता देश र जनताका लागि सदुपयोग हुन सके नेपालको समृद्ध मुलुकको सपना साकार हुन्छ । ओलीको बोली मात्र व्यवहार सुन्य देखिनथालेमा उनलाई जसले देवत्वकरण गरे उसैले दानवीकरण गर्न थाल्छन् । भीडको विश्वास हुन्न । जसलाई फुल वर्षा गर्छ उसैलाई ढुङ्गाले हान्नसक्छन् ।