Logo

अन्तर्राष्ट्रिय सहयोग आउन सुरु



काठमाडौँ, २० जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको महामारीले थलिएको अर्थतन्त्र उकास्न अन्तर्राष्ट्रिय सहयोग आउन थालेको बताएका छन् ।

आर्थिक वर्ष २०७७/७८ को बजेटबारेको छलफलमा उठेका प्रश्नको प्रतिनिधि सभामा सोमबारको बैठकमा जवाफ दिने क्रममा त्यसका लागि एसियाली विकास बैङ्कले करिब ३० अर्ब रुपियाँ सहयोग गर्ने भएको र अन्य निकायबाट पनि सहयोगको प्रतिबद्धता आएको बताएका छन् ।

सोही क्रममा उनले बजेटमा कुल गार्हस्थ उत्पादनको पाँच प्रतिशत आन्तरिक ऋण उठाउन करिब २२५ अर्ब रुपियाँ उल्लेख गरिएको बताएका छन् । यसरी उठाएको आन्तरिक ऋण विकास निर्माणमा मात्र खर्च गरिने र त्यसले बजारमा तरलता अभाव हुन नदिने पनि स्पष्ट पारेका छन् ।

अर्थमन्त्री खतिवडाले सङ्घबाट प्रदेशमा विभिन्न शीर्षकमा गएका बजेट चालू खर्चको मानिँदै आए पनि कतिपय बजेट पुँजीगत खर्च नै हुने गरेकाले अनुसूचीमा थप व्यवस्था गरी विकास खर्च र साधारण खर्च भनेर शीर्षक छुट्याइएको बताएका छन् ।

उनले अहिलेको अवस्थामा स्थानीय तहको क्षमतालाई हेर्दा बजेट पर्याप्त भएको र खर्च गर्ने क्षमता अभिवृद्धि गर्दै जानुपर्ने बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्