Logo

एडीबीले दियो ३० अर्ब बजेट सहायता



काठमाडौँ, २० जेठ । एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र अर्थतन्त्रमा पर्ने असर न्यूनीकरणका लागि नेपाललाई बजेट सहायता उपलब्ध गराएको छ ।

सहुलियतपूर्ण ऋणमा प्रदान गरिने २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपियाँ)को सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुङ्गाना र नेपालका लागि एसियाली विकास बैङ्क (एडीबी)का निर्देशक मुख्तोर खामुदख्नोभले हस्ताक्षर गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

सम्झौता अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा भएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अर्थमन्त्री डा. युवराज खतिवडाले यो तत्काल खर्च गर्न सकिने बजेट सहायता भएको बताउँदै एउटै संस्थाले छोटो अवधिमा यति ठूलो रकम सहयोग गरेको पहिलोपटक भएको बताएका छन् ।

विनियोजन विधेयकका सम्बन्धमा प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले विश्व बैङ्क, युरोपेली लगानी बैङ्कलगायतबाट थप सहयोगको प्रतिबद्धता आएको पनि बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्