Logo

‘रिक्सा नचलाए अब परिवार भोकै मर्छ’



काठमाडौँ, २० जेठ । नेपालगञ्ज—९ बाँकेगाउँका घनश्याम कोरीले आफ्नो तीनपाङ्ग्रे इरिक्सा नचलाएको दुई महिना भयो ।

इरिक्सा चलाएर पाँच जना परिवारको पेट पाल्दै आएका कोरीको परिवारलाई लामो समयको बन्दाबन्दीले अहिले बिहान बेलुकाको हातमुख जोर्न नसक्ने अवस्थामा पु¥याएको छ । भाडाको घरमा बसेर रिक्सा चलाउने पेशा अंँगालेका कोरीसँग आम्दानीको कुनै स्रोत नभएपछि तीन लालाबाला सन्तान र  आफ्नो पेटको भोक मेटाउन उनकी धर्मपत्नी लक्ष्मी अहिले अरुका घरमा भाँडा माझ्न बाध्य भएको छ ।

बन्दाबन्दीका कारण इरिक्सा चलाएर आफ्नो दिनचर्या चलाउने सो दम्पती प्रतिनिधिमूलक पात्र मात्र हो । उनीहरु जस्तै करीब १० हजार परिवारको दैनिक जीवन इरिक्साको कमाइले धानेको छ । बाँके जिल्लामा झण्डै १० हजार इरिक्सा सञ्चालनमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले बताएका छन् । लामो समयको बन्दाबन्दीले अहिले यिनै रिक्सा चालकको दैनिक कमाइ गुमेको छ ।

आम्दानीको वैकल्पिक व्यवस्था भएका केही रिक्सा चालकलाई परिवार पाल्न ठूलै समस्या नपरे पनि रिक्सा चलाएरै बिहान बेलुकाको हातमुख जोर्ने रिक्सा चालकका परिवारलाई भने लामो समयको बन्दाबन्दीले पेटमा भोक र मानसिक तनाव दिएको छ । झण्डै दुई महिनासम्म घरमै लकडाउनको पालना गरेर बसेका यहाँका केही रिक्सा चालक अहिले सडकमा रिक्सा लिएर निस्कन थालेका छन् । उनीहरुको यस्तो प्रयासले भने निरन्तरता पाउन सकेको छैन ।

स्थानीय प्रशासनले कडाइ गरेका दिन घर फिर्ता जानुको उनीहरुसंँग अरु कुनै विकल्प रहँदैन । ‘अलिअलि जोगाएको पैसा पनि सकियो, साथीभाइ, आफन्तसंँग ऋण लिएको रकम पनि भ्याइसकियो । रिक्सा नचलाए अब त हाम्रो परिवार भोकभोकै मर्छ’, बन्दाबन्दीमा रिक्सा चलाउने भनेर निस्किनुभएका नेपालगञ्ज—१३ का मोहम्मद हमिद इद्रिसीले दुःख पोखेका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्