Logo

रमेश लेखकको टिप्पणी : ‘यो देशमा सरकार छ र ? भन्नुपर्ने स्थिति आएको देखिन्छ’



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले अहिले देशमा सरकार छ र ? भन्ने अनुभूति हुन थालेको टिप्पणी गरेका छन् । पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा नेता लेखकले भनेका छन्,’सरकार भनेको खाली भाषण गर्नका लागि मात्रै हो भने मेरो भन्नु केही छैन । होइन भने एउटा किटसम्म परीक्षणका उपलब्ध नहुनु कति दूर्भाग्यपूर्ण कुरा हो । ५२ हजारको संख्यामा मानिसहरु क्वारेन्टाइनमा बसेको बेलामा परीक्षणको एउटा किटसम्म नहुनु भनेको धेरै दुःखद् कुरा हो । आजभन्दा १ हप्ता अगाडि २ हजार किट पठाइएको छ भनेर स्वास्थ्य मन्त्रीज्यूले भन्नुभएको थियो । आज त्यो पनि कहाँ पुग्यो केही थाहा छैन ।’

सुदूरपश्चिमको अवस्था के छ ?

सुदूरपश्चिमको अवस्था कोरोनाको संक्रमणले बडो नाजुक र दयनीय छ । मलाई प्राप्त जानकारी अनुसार हिजो साँझसम्म सुदूरपश्चिमका ९ वटै जिल्लाका गरी ५२ हजार मान्छेहरु क्वारेन्टाइनमा बसेका छन् । हिजो मैले काठमाडौंको सरकारको कुरा सुनेँ उसले ४० हजार भन्दैछ । मैले जिम्मेवार पदाधिकारीसँग कुरा गर्दा ५२ हजार मान्छेहरु क्यारेन्टाइनमा रहेको जानकारी पाइएको छ । त्यसमध्ये कतिपय मानिसहरु उपचारको क्रममा हुनुहुन्छ । तर बडोदुःखका साथ भन्नुपरेको छ, ‘सुदूरपश्चिममा परीक्षणका लागि किटहरु उपलब्ध छैन ।

अहिलेसम्म त्यहाँ क्वारेन्टाइनमा बस्नेलाई जँचाउन किटहरु छैन ?

छैन । त्यहाँ मानिसहरु क्वारेन्टाइनमा बसेका छन् । त्यसै घर गएका छन् । जचाउनका लागि किटको व्यवस्था छैन ।

अनि प्रदेश, स्थानीय र केन्द्रीय सरकार चाहीं के हेरेर बसेको छ त ?

मैले यसो भनिरहँदा फेरि यो कांग्रेसको मान्छे, प्रतिपक्षी दलको मान्छेले विरोध ग¥यो भन्ने स्वरहरु उठ्लान् । तर, यो स्थिति देख्दा मलाई भित्रदेखि नै यतिधेरै पीर र चिन्ता भएको छ कि त्यो देख्दा त यो देशमा सरकार छ र भन्नुपर्ने स्थिति आएको देखिन्छ । सरकार चाहिने के का लागि हो ? सामान्य अवस्थामा त हामीले देखिहाल्यौं नि । मानिसले आफै रोजगारी गर्दोरहेछ । देशभित्र रोजगारी पाएन भने विदेशमा जाँदोरहेछ । विदेशमा गएर पनि आफ्नो छोराछोरी पाल्दोरहेछ, जीवन निर्वाह गर्दोरहेछ । आपत विपतको बेलामा पो सरकार चाहिने हो । अनि पो जनतालाई सुरक्षा चाहिने हो । सुदूरपश्चिम कै कुरा गर्ने हो भने अहिले त्यो प्रदेशमा ५२ हजार मानिसहरु क्वारेन्टाइनमा छन् । यदि क्वारेन्टाइनको स्थिति हेर्ने हो भने त्यो पनि धेरै भयाबह स्थितिको छ । क्वारेन्टाइनमा खाना, खानेपानी, बस्ने, सुत्ने र सौचालयको व्यवस्था छैन । क्वारेन्टाइनमा बसेका मानिसहरुले घरबाट खाना ओसारेर खानुपरेको अवस्था छ । त्यहाँ सामाजिक दुरीको पनि कुनै नियम पालना छैन । एउटै काठामा धेरै मान्छे कोचिएर बस्नुपरेको छ । त्यसकारण मानिसहरु अत्यन्तै भयावह अवस्थामा क्वारेन्टाइनमा बसिराखेका छन् । यी सबै समस्यालाई हेर्दा यो सरकारको साह्रै नालायकीपन भएको छ । सरकार भनेको खाली भाषण गर्नका लागि मात्रै हो भने मेरो भन्नु केही छैन । होइन भने एउटा किटसम्म परीक्षणका उपलब्ध नहुनु कति दूर्भाग्यपूर्ण कुरा हो । ५२ हजारको संख्यामा मानिसहरु क्वारेन्टाइनमा बसेको बेलामा परीक्षणको एउटा किटसम्म नहुनु भनेको धेरै दुःखद् कुरा हो । आजभन्दा १ हप्ता अगाडि २ हजार किट पठाइएको छ भनेर स्वास्थ्य मन्त्रीज्यूले भन्नुभएको थियो । आज त्यो पनि कहाँ पुग्यो केही थाहा छैन ।

सुदूरपश्चिमका मुख्य मन्त्रीले काम गर्न सक्नुभएन भन्ने तपाईंको भनाइ हो ?

यो काममा मुख्य मन्त्रीको मात्रै कुरै होइन नि । यो विषयमा त्यहाँका मुख्य मन्त्रीलाई मात्रै भन्ने कुरा हुँदैन ।

त्यसोभए सुदूरपश्चिम सरकार चुक्यो ?

यहाँ त केन्द्र सरकार नै चुक्यो नि । सुदूरपश्चिम सरकार त दोस्रो कुरा भयो । यहाँ पहिलो केन्द्रीय सरकार चुक्यो किन भने समयमा प्रयोगशाला स्थापा गर्नुपर्ने, समयमै किटहरुको व्यवस्थापन गर्नुपर्ने र समयमै क्वारेन्टाइनदेखि आइसुलेसन बेडसम्म तयार गर्नुपर्ने हो । अहिलेसम्म कैलालीमा परीक्षणको लागि एउटा प्रयोगशाला राखिएको छ । त्यहाँ दुई, अढाइ सयभन्दा बढीको परीक्षण गर्न सकिँदैन । आज नेपालमा पहिलो संक्रमण देखिएको पाँचौ महिना भइसक्यो । संसारै कोरोनाले सताउन सक्छ है भनेर विश्व स्वास्थ्य संगठन पाँच महिना अगाडिदेखि घोषणा गरेको छ । अनि आजसम्म सरकारले के ग¥यो ? यो अवधिमा सरकारले न प्रयोगशाला, न किट, न क्वारेन्टाइको नै व्यवस्था गरेको छ । त्यसैले आजसम्म ग¥यो चाहीं के ?

यसमा त प्रतिपक्षको भूमिका पनि देखिएन नि तपाईंका पार्टीका नेताहरु पनि घरमा सुतेर बसेका छन् है ?

प्रतिपक्ष सुतेर बसेको, जागेर बसेको भन्ने कुरा हेर्दै जाने कुरा हो । हामीले संसद्मा पनि यो कुरा उठाएका छौं । हामीले सरकारका मान्छेहरुलाई निरन्र रुपमा यो कुरा राखेको छु । मैले हाम्रा परराष्ट्रय मन्त्रीलाई त निरन्तर यो कुरा राखेको छु, ‘मन्त्रीज्यू भारतबाट निरन्तर मान्छेहरु आउँछन् है, सीमानामा एकदमै मान्छेहरु बिचल्लीमा परेका छन् । भारतका विभिन्न ठाउँबाट भारतमा रहेका नेपालीहरु आउने नाका भनेको सुदूरपश्चिम हो । स्वास्थ्य मन्त्री, प्रदेशका मन्त्री स्थानीय सरकारसँग पनि कुरा गरिएको छ । यो कुरालाई नेपाली कांग्रेसमै उठाएको छ । अत्यन्त लोकप्रिय सञ्चारमाध्यममार्फत सरकारलाई पनि झकझक्याएका छौं । यहाँभन्दा प्रतिपक्षले के गर्ने ?

प्रतिपक्षको काम भनेको सधैं वाच गडको हो, तर तपाईंहरुले लकडाउन गर्न सरकारलाई साथ दिइरहनुभयो जसको कारण मानिसहरु भोकभोक बस्न वाध्य हुनुप¥यो ?

यो लकडाउन गरेका कारणले संक्रमण बढेको होइन नि । आर्थिक अवस्थाको कारणले मान्छे भोकभोकै बस्नुपर्ने स्थिति भयो होला । राहत पनि नपाएको अवस्था होला । तर, लकडाउनले संक्रमण बढाएको होइन । हामीलाई लकडाउनलाई मात्रै समर्थन गरेका हौं । त्यो लकडाउनलाई किन समर्थन ग¥र्यौभन्दा लकडाउनको बेलामा सरकारले परीक्षणहरु गर्ला, क्वारेन्टाइनको व्यवस्था गर्ला । उपचारको लागि अस्पतालको व्यवस्था गर्ला, परीक्षणको लागि किटहरु मगाउने काम गर्ला । राहतको व्यवस्था गर्र्ला । विदेशबाट आउने मानिसको उचित व्यवस्थापन गर्ला । त्यसको लागि लकडाउनले सरकारलाई काम गर्न सजिलो होला भनेर हामीले त सरकारलाई सहयोग गर्न खोजेका हौं । अनि कहाँ लकडाउनको समर्थन गरेको हो र । तर, सरकार यति गैरजिम्मेवार र निर्लज्जा होला भन्ने के थाहा । केही पनि काम गर्न नसकेर निर्लज्जा होला भन्ने त हामीलाई पनि थाहा थिएन । अहिले पनि हाम्रा प्रधानमन्त्रीलाई भाषण गर्न छोडिदिनुस् त उहाँले एउटा गोजीमा हात हालेर रेल झिकिदिनुहुन्छ, अर्कोबाट पानीजहाज झिकिदिनहुन्छ । कहिले अन्तरिक्षमा यान पठाउने निर्णय गरिदिनुहुन्छ । प्रधानमन्त्रीका भाषणको त यहाँ कुरा गरिसाध्ये छैन नि । नीति तथा कार्यक्रम ल्याउँदा यो देशमा खानै नपाएर चाहीं कोही मर्दैन भनियो त्यसको ४८ घण्टा नबित्दै मान्छेहरु भोकभोकै मर्न थालेका छन् । यो लकडाउनयताको समयमा मात्रै हजार हाराहारी मान्छेले आत्महत्या गरेको अवस्था छ । यति छोटो समय दुई महिनामा हजार हाराहारी मान्छेले आत्महत्या गरेको पहिलो रेकर्ड हो । केका लागि आत्महत्या गरेको छ । परिस्थिति सहज, सबल भएर गरेको होला त ? केले आर्थिक समस्या, रोजगारी गुमेर, भनेजस्तो खान नपाएर, छोराछोरीलाई पठनपाठन गराउन नसकेर, औषधि खान नपाएरलगायतका कारणले न गरेको होला । तर, सरकार के भन्दै छ भने ‘यो देशमा कोही मान्छे भोको रहँदैन, यो देशमा कोही मान्छे औषधि खान नपाएर मदैन’ भन्दैछ ।

तपाईंले यी कुरा भनिरहँदा मन्त्री निवासमा जीमखाना बनाउन १० लाख निकासा हुन्छ नि किन ?

त्यही त भनेको त । अझ सम्माननीय राष्ट्रपतिजीकोमा त करोडौंको कार्पेट फेर्ने कुरा आएको छ भनेर त तपाईंहरु नै भनिरहनुभएको छ । पत्रपत्रिकामा आइरहेको छ । सम्माननीय राष्ट्रपतिजीलाई २ करोड रुपैयाँको तालिम चाहिएको छ । अनि माननीय मन्त्रीजीहरुलाई करोडौं रुपैयाँको जीमखाना चाहिएको छ । शारीरिक ब्यायाम गर्नुपर्छ त्यसमा दुईमत छैन । अहिलेको अवस्थामा त कोठैमा बसेर ब्यायम गर्दा पनि भइहाल्छ नि । घरमै गर्नुपर्छ । यसमा कहावत छ, ‘रोम चलिरहँदा निरो बाँसुरी बजाइरहे’ भने जस्तो अहिलेको समस्यामा सरकार बाँसुरी बजाइरहेको छ । अझ अर्को कुरा महाकाली नगरपालिकामा २५ सय मान्छे क्वारेन्टाइनमा बसेका छन् । त्यहाँ १० वडा छन् त्यस हिसावले १ वडाका २५० मान्छेहरु क्वारेन्टाइनमा छन् । त्यो ठाउँमा एउटा पनि किटको व्यवस्था छैन । खान, बस्न र सौचालयको पनि व्यवस्था छैन । यस्तो भएपछि के हुन्छ अहिलेको गर्मी मौसममा ?

क्वारेन्टाइनमा खानाको पनि व्यवस्था छैन नि ?

खानै छैन । घरबाट मानिसहरुले खाना लगेर खुवाइराखेका छन् । त्यही भाडाँ प्रयोग भएको छ । त्यो लिएर घर पुग्छन् । त्यसले संक्रमण फैलिने र सर्ने डरपनि त्यत्तिकै छ । बरु केही सामाजिक संघसंस्थाहरुले खाना खुवाउने काम गरेका छन् । कतिपय व्यक्तिहरुले पनि स्वतस्फुर्त ढंगले सहयोगहरु गरिरहेका छन् । नत्र भने सरकारको पक्षबाट सिन्कोसम्म भाँचिएको छैन । त्यो ठाउँमा सरकार छ भन्ने अनुभूति नै भएन । यस्तो विपद्को बेलामा पनि उपस्थिति नहुने सरकार केको लागि चाहियो ? अहिले सरकार सम्पूर्ण कुरा छोडेर यसैमा केन्द्रित हुनुपर्ने होइन र ? क्वारेन्टाइनमा बसेका मान्छेहरुको खाने, सुत्ने, बस्ने, सौचालयको उचित व्यवस्थापन गर्नुपर्दैन ? त्यहाँ भएका मानिसहरुलाई राम्रोसँग परीक्षण गरेर निरोगीहरुलाई राम्रोसँग घरमा पु¥याइदिनुपर्दैन ? यस्तो गर्मीको मौषम छ । लामखुट्टेले त्यत्तिकै टोकेको हुन्छ । पिउने पानी सुद्ध नभएर मानिसहरुलाई अन्य रोगहरु लागेको छ । पोजेटिभ देखियो भने अस्पताल लगेर आइसुलेसनमा राख्नुपर्ने अहिलेको काम होइन । अनि अहिले नै राष्ट्रपतिजीलाई राम्रो, रा्रम्रो कार्पेट चाहिने, ट्वाइलेटमा राम्रो कलर लगाउनुपर्ने, सजावट गर्नुपर्ने, मन्त्रीजीहरुलाई जीमखाना चाहिने, स्वीमिङ पुल चाहिने यस्तो किन भइराखेको अचम्म लागेको छ । फेरि चीमखाना, कार्पेट र ट्वाइलेटमा बजेट गयो म भन्दिँन । तपाईंहरुले उठाउनु भएकाले मैले भनेको हुँ । पुग्छ भने गर्दा तर जनताको समस्यामा त ध्यान दिनुप¥यो नि ? यस्तो अवस्थामा यो सरकारको के कुरा गर्ने ।

जनता समाजवादी पार्टीले पनि संविधानको माग गरेर प्रस्ताव दर्ता गरेको छ, तपार्इंंहरु संविधान संशोधनको पक्षमा उभिनुभएको छ, अब उनीहरुको मागलाई सम्वोधन गर्नुपर्छ कि पर्दैन ?

यसमा दुईवटा कुरा छन् । नेपाली कांग्रेसको भरखरै केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । त्यो बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ । पहिलो कुरा त हामीले कालीनदी पूर्वको भू–भाग लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो क्षेत्र हो । कालीनदी भनेको सुगौली सन्धि हुँदा महाकाली नदीको पूर्वीभू–भाग भनिएको छ । त्यसको उद्गम स्थल भनेको लिम्पियाधुरा हो । त्यो लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू–भाग हाम्रो हो । त्यो भूमि नेपालले फिर्ता लिनुपर्छ । त्यो सार्वभौम हुनुपर्छ भनेर हामीले आज मात्रै होइन प्रारम्भदेखि उठाउँदै आएका हौं । त्यो भूमि हाम्रो हो भनेर त्यसलाई समेटेर सरकारले मस्यौदा ल्याएको त्यसको पक्षमा मतदान गर्ने भनेर कांग्रेसले स्पष्ट निर्णय गरेको छ । हामीले सरकारले प्रस्तुत गरेको संशोधनको पक्षमा मतदान गर्दछौं । जुन हाम्रो भूभाग सीमानासँग जोडिएको विषय हो । अर्को कुरा हाम्रा पार्टी सभापति शेरबहादुर देउवाजी प्रधानमन्त्री भएको बेलामा हामीले विभिन्न राजनीतिक दलहरुसँग छलफल र सरसल्लाह गरेर त्यसबेला पनि हामीले संविधान संशोधनको प्रस्ताव पेश गरेका थियौं । त्यसबेला मधेस केन्द्रत दल, माओवादी दललगायत सबैसँग छलफल गरेर संविधान संशोधनको प्रस्ताव पेश गरेका थियौं त्यति बेला छलफल हुन सकेन । त्यो प्रस्तावलाई पनि पुनः संसद्मा प्रस्तुत गर्ने भनेर केन्द्रीय कार्यसमितिले निर्णय गरेको छ । यी विषयका संशोधनको प्रस्ताव लिएर अगाडि बढेका छौं त्यसको कार्यान्वयनको लागि अगाडि बढिरहेका छौं ।



प्रतिक्रिया दिनुहोस्