Logo

लकडाउन खुकुलो बनाउन सरकारमाथि दबाब, निजी क्षेत्रसँग सुझाव संकलन गरी निर्णयमा पुग्दै



काठमाडौं, २१ जेठ । जेठभर लकडाउन लम्ब्याएको सरकार नयाँ मोडालिटीका साथ जाने भएको छ । कोभिड १९ को रोकथामका लागि गरिएको लकडाउन ७० दिन कटेपछि जनजीवन निकै कष्टकर भएको छ । आर्थिक वर्षको अन्तिम महिना असार लाग्न लाग्दा आर्थिक गतिविधिको आवश्यकतालाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने टुंगोमा सरकार पुगेको हो ।

लकडाउन निश्चित क्षेत्रमा मात्र लगाउने गरी सरकारले खुकुलो बनाउँदैछ । सरकार निर्णयको बिन्दुमा पुगिसकेको स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले जानकारी दिएका छन् । अब त्यसलाई अन्तिम रुप दिई मन्त्रिपरिषदमा लगी पारित गरिनेछ ।

लकडाउनको स्वरुप परिवर्तन भइसकेको र मोडालिटी औपचारिक रुपमा आउने जनाइएको छ । त्यसका लागि उद्दोगी व्यवसायीसँग सरकारले सुझाव संकलन थालेको छ । हिजो कोभिड १९ रोकथामसम्बन्धी उच्चस्तरीय संयन्त्रको बैठक बसेको छ । बैठकमा मोडालिटीबारे छलफल भएको छ । त्यसको निर्णय भने आज या भोलिसम्म गरिनेछ ।

बढी संक्रमण भएको क्षेत्र र कम संक्रमण भएको क्षेत्र तोकेर लकडाउन खुकुलो बनाउने सरकारको तयारी छ । जोखिमलाई दृष्टिगत गरी निश्चित मापदण्ड तोकेर आर्थिक गतिविधि सञ्चालन गर्न दिइने भएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गदैै सरकारले अब कोरोना भाइरससँग संघर्ष गर्दै आर्थिक तथा सामाजिक गतिविधि पनि बढाउँदै लैजाने बताइसकेका छन् । उनले केही उद्दोग संचालन र निर्माणहरु भइरहेको उदाहरण दिदै कोरोना रोकथामको उपायसहित निर्माण र उत्पादनको क्षेत्रलाई गति दिइने खुलाइसकेका छन् ।

लकडाउन क्रमशः खुकुलो बनाउँदै लगिएको आपूर्तिमन्त्री लेखराज भट्टले बाताइसकेका छन् । उद्दोगहरु सञ्चालनको क्रममा छन् । सरकारले परिस्थिति हेरेर लकडाउन खुकुलो पार्ने गरी मापदण्ड बनाउँदैछ । मन्त्री भट्टले ऋषि धमलासँग भने, ‘अहिले हाम तयारी गर्दैछौं, व्यवहारिक खालको मोडल तयार हुँदैछ ।’

सरकारले लकडाउन नै भन्ने तर यसलाई सहजीकरण गर्ने भएको छ । सवारी साधन सञ्चालनमा पहिले भन्दा खुकुलो बनाइने भएको छ । छोटो दुरीको यातायात विस्तारै सञ्चालनमा आउनेछन् ।

३२ जेठसम्म लकडाउनको निर्णय आइसकेपनि मोडालिटी बनाउने क्रम भएकाले बीचैमा पनि कार्यान्वयनमा आउनसक्ने बुझिएको छ । नयाँ मोडालिटी अनुसार अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी भएको छ ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्