Logo

जेठ २५ भित्र कर तिर्नुपर्ने



काठमाडौँ, २१ जेठ । लकडाउनका कारण फागुन र चैतमा बुझाउनुपर्ने कर आगामी जेठ २५ गतेसम्म बुझाउन सरकारले करदातालाई स्मरण गराएको छ ।

लकडाउनले कर तिर्न समस्या हुने भएपछि सरकारले पहिलोपटक वैशाख २५ गतेसम्मका लागि कर तिर्नुपर्ने मिति तय गरेको थियो । त्यसमा पनि संशोधन गर्दै जेठ २५ गतेसम्म कर तिर्नसक्ने गरी सरकारले दोस्रोपटक निर्णय गरेको थियो । मङ्गलबार सरकारले यसअघि कर तिर्नका लागि तोकिएको मिति करदातालाई स्मरण गराएको आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले जानकारी दिएका छन् ।

विभागले मङ्गलबार एक सूचना प्रकाशित गर्दै फागुन र चैतसम्मको अन्तशुल्क, आयकर, शिक्षा सेवा शुल्क र दूरसञ्चार सेवा शुल्कबापतको विवरण र त्यसअनुसारको कर जेठ २५ गतेभित्र दाखिला गर्न जानकारी गराएको छ । त्यस्तै फागुन चैतको मूल्य अभिवृद्धि कर विवरण, माघ र फागुनको द्विमासिक र मङ्सिरदेखि फागुनसम्मको चौमासिक कर विवरण र सो बमोजिमको कर दाखिला गर्न समेत विभागले करदातालाई जानकारी दिएको छ ।

विभागको उक्त सूचनापछि निजी क्षेत्रका प्रतिनिधिले असन्तुष्टि जनाउँदै आएका छन् । लकडाउनको समयमा रकम अभाव भएको अवस्थामा समेत कर तिर्न बाध्य पार्नु गलत भएको उनीहरूको आरोप छ । यद्यपि सरकारले भने यो सूचना नयाँ नभई पुरानै सूचना भएको स्पष्ट पारेको छ । “यसको विरोध गर्नुपर्ने नै देख्दिनँ । यो पुरानै सूचना स्मरण गराएको मात्र हो,” महानिर्देशक कुँवरले बताएका छन् । विभागले समयमै कर दाखिला गरेर थप दस्तुर तथा जरिवानाबाट बच्नसमेत करदातालाई आग्रह गरेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्