काठमाडौं, २२ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टीभित्र अब प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने च्याप्टर क्लोज भएको स्पष्ट पारेका छन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पन्तले यस्तो बताएका हुन् । यद्धपी उनले पार्टीभित्र एक व्यक्ति, एक पदको माग कायमै रहेको स्पष्ट पारे ।
उनले भने,’यतिवेला उहाँलाई सहयोग गर्नु हो । सिमानासम्बन्धी जे विवाद निस्किएको छ, त्यसलाई मिलेर सामना गर्ने । संविधान संशोधनको जुन प्रस्ताव दर्ता भएको छ । संसदमा त्यसलाई सर्वसम्मतीको रुपमा पारित गराउन हामी सबै लाग्ने र कोरोनाको संकटलाई समाधान गर्ने हो । यो समाधान गर्ने प्रक्रियामा पनि पार्टीको बैठक डाक्नुपर्छ । स्थायी कमिटीको बैठक डाक्न सकिन्छ । किनभने स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीलाई विक बनाउँदैन् । तपाईले भन्नुस न, यत्रो विवादको बेलामा नेपाली कांग्रेसले एउटा डेमोक्रेटिक निर्णय गर्यो । प्रधानमन्त्रीले बैठक डाक्दा हामी उहाँलाई राम्रा सुझाव दिन सक्छौं ।’