Logo

लकडाउनमा १५ किमी सडक टालियाे



काठमाडौं, २३ जेठ । कोभिड–१९ रोकथाम र नियन्त्रणका गर्न बन्दाबन्दी जारी रहँदा काठमाडौँ जिल्लामा लक्ष्यनुसार नै सडक मर्मतको काम भएको छ । आर्थिक वर्षको अन्तिम चौमासिकको शुरुदेखि सरकारले बन्दाबन्दी गरे पनि डिभिजन सडक कार्यालयले नियमितरुपमा काम गर्दा लक्ष्यनुसार मर्मत सम्पन्न भएको हो ।

चालू आवमा ४१ किलोमिटर सडक मर्मत (ओभर ले) को लक्ष्य लिइएकामा अहिलेसम्म ४० किमीभन्दा बढीमा ‘ओभर ले’ सकिएको छ । अहिले झण्डै ३०० मिटर सडकमा ‘ओभर ले’ बाँकी रहेकाले अबको केही दिनमा सकिने कार्यालयले जनाएको छ । यस वर्ष डिभिजनले सडक मर्मतलाई नै बढी जोड दिएको डिभिजनका प्रमुख कुबेर नेपालीले बताए । नयाँ सडक र पुलको काम उल्लेखनीयरुपमा हुन नसके पनि यस वर्ष सडक मर्मतको काम लक्ष्यनुसार भएको हो ।

विगतका वर्षहरुमा काठमाडौँ उपत्यकामा रहेका खाल्टाखुल्टीकै कारण सडक विभागको आलोचना हुने गरेको थियो । शहरी क्षेत्रमा समेत धेरै सडक हिउँदमा धुलो र वर्षाका समयमा धुलो हुँदा स्थानीयवासी हैरान थिए । वर्षा पहिले गौशाला–चावहिलबाहेक अधिकांश सडक कालोपत्र भइसकेको छ । यसबीचमा विभिन्न स्थानमा पटके मर्मतको कामसमेत भइरहेको छ ।

बन्दाबन्दीका समयमा विभिन्न निकायले आफ्ना काम ठप्प गरेका थिए । सडक विभागअन्तर्गतकै कतिपय सडक आयोजनाले बन्दाबन्दीको केही सातासम्म निर्माणको काम अघि बढाएको थिएन । डिभिजनले भने बन्दाबन्दीको शुरुवाती दिनदेखि नै काम गरिरहेको छ । शुरुका दिनमा थोरै जनशक्तिबाट सडक रङरोगनको काम शुरु भएको थियो । बन्दाबन्दीको केही सातादेखि नै आवश्यक स्वास्थ्य सावधानी अपनाएर सडक निर्माण र मर्मतको काम भइरहेको प्रमुख नेपालीले बताए । डिभिजनले सामाजिक दूरी र आवश्यक स्वास्थ्य सामग्रीको प्रयोग गरेर बन्दाबन्दीमा समेत निर्माणको काम गरिरहेको उनले जानकारी दिए ।

बन्दाबन्दीको अवधिमा मात्रै १५ किमीभन्दा बढी सडक ‘ओभर ले’ भएको छ । चालू आवभित्र कालोपत्र भएका सडकमा रङरोगनको काम झण्डै तीन किमीमात्रै बाँकी रहेको नेपालीले बताए ।

चालू आवमा नयाँ सडक निर्माण र पुल निर्माणको काम भने लक्ष्यनुसार हुन नसकेको विभागले जनाएको छ । ३० किमी सडक निर्माणको लक्ष्य राखिएकामा १२ किमीमात्रै सकिएको प्रमुख नेपालीले बताए ।

डिभिजनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलसँग संयुक्त ठेक्कामा गौशाला–चावहिल र पुलतीसडक सडकमा निर्माणको काम गरिरहेको छ । यो सडकमा संयुक्त ठेक्कामा पाइप हाल्ने र सडक निर्माण भइरहेको छ । पुतलीसडकमा ह्युमपाइप बिच्छाएर सडक निर्माण भइसकेको छ । गौशाला–चावहिलमा भने पाइप बिच्छाउने काममात्रै सकिएको छ । नेपाल विद्युत् प्राधिकरणले भूमिगत तार बिच्छाउन लागेकाले सडक कालोपत्र गर्न नसकिएको हो । उनले भने, “गौशालादेखि मित्रपार्कसम्मको सडक चालू आवभित्र सम्पन्न भए पनि मित्रपार्कदेखि चुच्चेपाटी गर्न सकिने देखिएको छैन ।”

नयाँ सडक निर्माणमात्रै होइन पुल निर्माणको कामले पनि गति लिन सकिरहेको छैन । डिभिजनले चालू आवमा पाँच सडक पुल निर्माणाधीन रहेकामा ती सबैको निर्माण रोकिएको उनले बताए ।-रासस



प्रतिक्रिया दिनुहोस्