Logo

धार्के–सीतापाइला सडक : धमाधम कालोपत्रे गरिँदै



काठमाडौँ, २५ जेठ । मुलुकको अन्य भूभागलाई राजधानीसँग जोड्ने मुख्य नाकाका रूपमा रहेको धार्के–कलङ्की सडकखण्डको विकल्पका रूपमा अगाडि सारिएको धार्के–सीतापाइला सडकखण्डको निर्माण सुरु भएको छ ।

धार्के–कलङ्की सडकखण्डमा राजधानी भित्रिने र बाहिरिने सवारी साधनको चापले वर्षांैदेखि अत्यधिक ट्राफिक जामको सास्ती हुने गरेकोमा धार्के–सीतापाइला खण्ड निर्माणसँगै राजधानी भित्रिने र बाहिरिने सवारी साधनका लागि नागढुङ्गाको जाम छल्ने एउटा उपयुक्त विकल्प तयार हुने विश्वास गरिएको छ ।

काठमाडौँ सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले पृथ्वी राजमार्गअन्तर्गत धार्के–कलङ्की सडकखण्डको विकल्पका रूपमा अगाडि सारिएको धार्के–सीतापाइला सडकखण्ड कालोपत्रेको काम सुरु गरिएको जानकारी बताएका छन् । उनका अनुसार यसअघि नै यस सडकखण्डको ट्र्याक खोल्नुका साथै दुवैतिर सडक विस्तार गर्ने, फराकिलो गर्ने तथा ढुङ्गाको पर्खाल लगाउने, कल्भर्टसहित आवश्यक पूर्वाधार तयार भइसकेको छ ।

यो सडकखण्ड निर्माणका लागि काठमाडौँ सडक डिभिजन कार्यालय र भरतपुर सडक डिभिजन कार्यालयबाट काम भइरहेको छ । काठमाडौँतर्फको काम काठमाडौँ सडक डिभिजन कार्यालयबाट र धादिङतर्फको काम भरतपुर सडक डिभिजन कार्यालयबाट भइरहेको छ । यो सडकखण्डको शून्य किलोमिटर सीतापाइला (चक्रपथ)देखि रामकोट–भीमढुङ्गा–महेशफाँट हुँदै धार्के पुग्नेछ ।

सीतापाइलादेखि धार्केसम्म कुल २४ किलोमिटर रहेको यस सडकखण्डको चौडाइ १२ मिटर हुने डिभिजन कार्यालयले जनाएको छ । यो सडकखण्ड दुई लेनको हुनेछ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्