Logo

व्यवस्थित बन्दाबन्दीको प्रतीक्षामा व्यवसायी



काठमाडौँ, २५ जेठ । कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षाका लागि जारी बन्दाबन्दी ७४ दिन पुग्दा व्यवसायी तथा उद्यमीहरूले यसबाट निकास खोजिरहेका छन् ।

बन्दाबन्दीले आर्थिक गतिविधि ठप्प हुँदा अर्थतन्त्र नै जोखिममा पर्ने, व्यवसायी टाट पल्टने र सर्वसाधारणलाई हातमुख जोड्नसमेत मुस्किल पर्ने खतरा भएको भन्दै उद्यमी व्यवसायी सरकारबाट बन्दाबन्दीको स्वरूप तत्काल पुनर्विचार गर्ने अपेक्षामा छन् । सरकारले यही जेठ ३२ सम्म बन्दाबन्दीलाई निरन्तरता दिएको छ ।

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग व्यवसाय सञ्चालन गर्न सहज हुनेगरी बन्दाबन्दीको शैली परिवर्तन गर्न यसअघि नै सरकारलाई औपचारिक आग्रह गरिसकेको छ । कतिपय स्थानमा अत्यावश्यकबाहेकका पसल व्यवसाय पनि खुल्न थालिसकेका छन् । कोरोना जोखिममा बच्न आफैँ सुरक्षाको विधि अपनाएर व्यवसाय सञ्चालन गर्ने मनस्थितिमा व्यवसायी पुगिसकेको पछिल्ला घटनाक्रमले देखाउँछ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्