Logo

क्वारेन्टाइन व्यवस्थित गर्न ध्यानाकर्षण



काठमाडौँ, २६ जेठ । राष्ट्रिय सभा बैठकमा सांसदले कोरोनाबाट सङ्क्रमितको परीक्षण र क्वारेन्टाइन व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खिमलाल भट्टराईले सङ्क्रमण बढी भएको ठाउँमा क्वारेन्टाइन व्यवस्थित हुन नसकेको भन्दै त्यस्ता ठाउँलाई थप व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सुरक्षा अङ्ग परिचालन गरेर भए पनि छिटोभन्दा छिटो उचित व्यवस्थापन होस् भनेका छन् ।

उनले सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने भएको हुँदा पीसीआर परीक्षणको दायरा बढाउन, परीक्षणको रिपोर्ट समयमै आउने व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भेन्टिलेटर थप गर्न पनि सरकारलाई आग्रह गरेका छन् । राहतको उचित व्यवस्थापनमा लाग्न समग्र जनप्रतिनिधिलाई आह्वान गर्दै उनले भोकमरीबाट जनता मर्ने अवस्था आउन नदिन हामी सबै लागौँ भने । यसैगरी उनले एसईई र कक्षा ११ र १२ को परीक्षाको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले विद्यार्थीले पढेकै विद्यालयमा केही मापदण्ड कायम गरेर परीक्षा दिने व्यवस्था मिलाउन सकिने भन्दै व्यवस्थापन गर्न ध्यानाकर्षण गराएका छन् । नेपाली काँग्रेसका सांसद रमेशजङ रायमाझीले कोरोना सङ्क्रमितको उपचारमा आवश्यक भेन्टिलेटर हुन नसक्नुको जवाफ माग गरेका छन् । उनले कोरोना कोषमा जम्मा भएको रकमको खर्चका सम्बन्धमा पनि फेहरिस्तको माग गरेका छन् । उनले पीसीआर परीक्षणको रिपोर्ट आउन धेरै समय लाग्ने गरेको उल्लेख गर्दैै सरकारको ध्यानाकर्षण गराएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्