Logo

लकडाउन खुकुलो पार्न यसकारण सरकारलाई डर, भोको पेटको आक्रोशले आँधीबेहरीको खतरा



काठमाडौं, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली कतिसम्म चतुर छन् भने लकडाउन औपचारिक रुपमा खुकुलो पार्न चाहिरहेका छैनन् । केन्द्र सरकारले लकडाउन खुकुलो पार्न अलमल गरिरहँदा स्थानीय तहमा खुकुलो भइसकेको छ । विराटनगर, वीरगञ्ज मात्र नभई काठमाडौंमा पनि पसल खुल्न थालिसकेका छन् । निजी सवारी साधन चलेका छन् । प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै कतिलाई मात्र नियन्त्रणमा लेओस् ।

मन्त्रिपरिषद बैठक बस्छ निर्णय गर्छ लकडाउन विस्तारै खोल्नेबारे मस्यौदा बनाउन कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी संयन्त्रलार्य जिम्मेवार दिन्छ । फेरि अर्को समितिलाई पनि जिम्मेवारी दिन्छ । संयन्त्र र समितिमा रहेकाहरु लकडाउन खोल्ने मोडालिटी तयार हुनैलाग्यो भन्छन् मात्र । मोडालिटी अन्तिम बिन्दुमा पुग्यो भन्दै १० दिन भयो अलमलाएको । टुंगोमा पुग्न बैठक बस्यो भनिन्छ तर टुंगो लागेको होइन । सेनाले पनि मोडालिटी बनाएको छ ।

कोरोना भाइरसको संक्रमण बढेर जेठमा मात्र ३ हजार संख्या थपिएका छन् । स्थिति भयावह हुँदैछ । सिमा नाकामा लापरवाही भयो । शुरुमा बन्द गरियो । बन्द गर्दा झन् क्वारेन्टाइनमै कोरोना सल्कियो । ओलीले भारतको कोरोना भाइरस कडा भनिदिए । भारतविरोधी भावना बढिरहँदा भोको पेटलाई यसरी नै अलमलाउन सके ओलीले ।

लकडाउनका क्रममा लाखौं नेपाली भारतबाट भित्रिएका छन् । उनीहरु श्रमका लागि पुगेका हुन् । अब बेरोजगार भएका छन् । ज्यानै बाजी लगाएर फर्केकाहरु रित्तै जस्ता छन् । यता देशभित्र पनि धेरैको काम बन्द छन् । बेरोजगारी बढेको छ । यसरी मानिसहरु भोकै हुने अवस्था छ । अब कोरोना भाइरसभन्दा आर्थिक संकटले निम्त्याउने जोखिम डरलाग्दो हुने रिपोर्ट सुरक्षा निकायले तयार पारेका छन् । मानिसहरु मानसिक तनावमा छन् । आत्महत्याको घटना बढेको छ । यसरी अपराध झन् डरलाग्दो तरिकाले बढ्ने खतरा छ ।

विभिन्न रिपोर्टका कारण अहिले बालुवाटार लकडाउन खोल्न डराइरहेको छ । एकातर्फ भोका जनतामा असन्तुष्टको ज्वालामुखी भित्र भित्र दबेको छ । त्यसले कुनैपनि बेला बिष्फोटक रुप लिनसक्छ । असन्तुष्ट जनतालाई राजनीतिक फाइदा लिन खोज्ने समुहले चलाउन सक्ने नै भयो ।

देशमा सडकमा मान्छे उत्रने मुद्दाको कुनै कमी छैन । लकडाउनको बखत स्वास्थ्य सामाग्रीमा भएको भ्रष्टाचारको विषय सेलाएको मात्र हो । फेरि चर्कन सक्छ नै । रुकुम पश्चिमको सोती घटनामा छ युवकको ज्यान गएपछि दलित समुदायमा आक्रोश छ । लकडाउनका बाबजुद सडकमा आएकै छन् ।

सबैभन्दा चर्किने विषयमध्ये अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी छ । नेकपाभित्र विवादको वषय बनेको यसको व्यवस्थापन सजिलो होला जस्तौ छैन । एमसीसी विरुद्ध सडकमा आउने क्रम चलिनै सकेको छ ।

व्यवसायीहरु पनि थलिएका छन् । बैंकले ब्याज छुट दिन मानिरहेको छैन । टाठाबाठा कालाबजारी गरेर उक्सिसकेका छन् । अरु चाहिं श्रमिकलाई तलब खुलाउन सकेका छैनन् । होटल व्यवसाय चौपट छ ।

यसरी एकपछि अर्को गर्दै मुद्दा तयार छन् । लकडाउन खोलीहाले राजनीतिक उद्देश्यले सडकमा मान्छे ओइरिन सक्छन् । यसको भय सरकारलाई परेको छ । सम्भावित आन्दोलन र असन्तुष्टिको सामना गर्न कठिनाई पर्ने डर बालुवाटारलाई परेको छ । यसकारण पनि लकडाउन खोलिहाल्ने पक्षमा सरकार छैन । खोलीहाले पनि निकै सुस्तरी खोल्ने तयारी छ । अब कोरोना रोकथामभन्दा असन्तुष्टि रोकथामको जोखिम डरलाग्दो भएको छ ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्