Logo

रुकुम घटना : छानबिन गर्न सांसद पौडेलको संयोजकत्वमा संसदीय समिति गठन



काठमाडौँ, २६ जेठ : सङ्घीय संसद्ले रुकुम(पश्चिम)को चौरजहारी नगरपालिकाको सोतीमा भएको घटनाको छानबिन गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १० गते भएको सोती घटनाको सत्यतथ्य छानबिनका लागि ‘चौरजहारी नगरपालिका सोती घटना छानबिन संसदीय विशेष समिति’ गरिएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठकमा पटकपटक प्रश्न उठेको उक्त घटनाको यथार्थ अध्ययन गरी प्रतिवेदन पेश गर्न आफूले सदनलाई जानकारी गराइसकेको र प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम सो समिति गठन गरिएको सभामुख सापकोटाले बताउनुभयो ।

समितिका सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुङ्खे, प्रकाश रसाइली’, विमला विक, महेश्वरराज गहत, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव हुनुहुन्छ । सभामुखको निर्देशनमा रही समितिले कार्यविधि तय गरेर लागू गर्न सक्नेछ । सो समितिले आवश्यक ठानेमा सम्बन्धित पदाधिकारी वा अन्य व्यक्तिको सहयोग लिन वा समितिमा आमन्त्रण गर्न सक्ने छ । समितिका अन्य कार्यविधि प्रतिनिसिभा नियमावली, २०७५ अनुसार हुनेछ । समितिको समयावधि ३० दिनको तोकिएको छ ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्