Logo

रुकुम घटनाको छानविनका लागि देवेन्द्र पौडेलको नेतृत्वमा संसदीय बिशेष छानविन समिति गठन



जेठ २६, काठमाण्डौ । रुकुम चौरजहारी घटनाको छानविन गर्न प्रतिनिधिसभाले संसदीय बिशेष छानविन समिति गठन गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख अग्नी सापकोटाले सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय बिशेष छानविन समिति गठन गरिएको जानकारी दिएका हुन् ।

समितिका सदस्यहरुमा सांसदहरु एकबाल मिया, दुर्गा पौडेल, पार्वती कुमारी बिशंखे, प्रकाश रसाइलि, बिमला बिक, महेश्वरजंग गहजराज, मिन बहादुर बिश्वकर्मा र रामशहाय प्रसाद यादव रहनुभएको छ । समितिलाई ३० दिनको समयावधी दिइएको छ ।

यसअघि बैठकमा सांसदहरुले उक्त घटनाको छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका थिए । गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए । त्यसमा नवराजसहित ६ जनाको ज्यान गएको थियो । उनीहरुको शव भेरी नदीमा भेटिएको थियो । घटनामा संलग्नता भएको आरोपमा प्रहरीले २५ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्