Logo

१५ दिनसम्म पनि आउँदैन कोरोना परीक्षणको रिपोर्ट



काठमाडौं,जेठ २७ । देशभर कोरोना भाइरस पहिचानका लागि प्रयोगशालामा ‘स्वाब’ नमुना दिएकाहरूले नतिजा आउन निकै ढिलो हुने गरेको गुनासो गरेका छन् । कोरोना भाइरस संक्रमणको पहिचानका लागि आरटीपीसीआर विधिको प्रयोग हुँदै आएको छ ।

स्वाब संकलनको संख्या बढेसँगै परीक्षणको नतिजा ढिलो भएको प्रयोगशालाले बताएका छन् । हाल देशभर २१ स्थानमा रहेका प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ । संक्रमण पहिचानका लागि स्वाब दिएका केहीले लामो समयसम्म पनि रिपोर्ट नपाएको गुनासो गरेका छन् । स्वाब नमुना दिए पनि नतिजा नै थाहा नपाएको समेत उनीहरूको गुनासो छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर १ लाख ९ सय ७१ जनाको आरटीपीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । परीक्षण गरिएकाहरूको नतिजा पनि एकदमै ढिलो आउने गरेको छ । कोरोना परीक्षणका लागि कपिलवस्तु नगरपालिकामा स्वाब संकलन गरेका एक स्वास्थ्यकर्मीले भने, ‘मेरो स्वाब जेठको पहिलो साता लिइएको हो । नतिजा के आयो, जानकारी पाउन सकेको छैन ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झाले जनशक्ति अभावमा परीक्षणको गति सुस्त भएको बताइन् । उनले भनिन्, ‘थोरै जनशक्तिले काम गर्नुपर्ने बाध्यता भएकाले संकलन भएका स्वाबहरू होल्ड भएका हुन् ।’ उनले परीक्षणको दायरा बढाउन आरएनए एक्स्ट्रयाक्सन अटोमेटिक मेसिनको संख्या थप गर्नुपर्ने बताइन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दैनिक १ हजार ५ सय जनासम्मको परीक्षण नतिजा होल्ड हुने गरेको छ । सो प्रयोगशालामा दैनिक १ हजार ५ सय जनासम्म परीक्षणका लागि आउने गरेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्