काठमाडौं, २७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामकृष्ण यादवले अहिले मुलुककै अवस्था ठिक नभएको बताएका छन् । उनले वर्तमान सरकारले लकडाउनबाहेक अन्य केही पनि काम गर्न नसकेको आरोप लगाएका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले सरकार असफल भएको समेत आरोप लगाए । सरकारले देश र जनताप्रतिको उत्तरदायित्व पूरा गर्न नसकेको उनको गम्भिर आरोप छ ।
कोरोना भाइरसका कारण मुलुकमा ठूलो क्षति भएको तर सरकारको ध्यान त्यसतर्फत नभएको उनको गुनासो छ । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार कुनैपनि दृष्टिकोणले सफल नभएको उनले जिकिर गरे । हिजो बसेको पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा सबै नेताले सरकार असफल भएको निश्कर्ष निकालेको पनि यादवले सुनाए । अब सडक र सदन दुवै ठाउँमा पार्टीले सशक्त रुपमा आफूलाई उभ्याउने निर्णय गरेको पनि उनले सुनाए ।
वर्तमान प्रधानमन्त्री ओलीले मुलुक सम्हाल्न नसकिरहेको भन्दै यादवले प्रधानमन्त्रीको क्षमतामाथि पनि प्रश्न उठाए । उनले भने-“प्रधानमन्त्री (उहाँ) असफल भैसक्नुभएको छ । अर्को व्यक्तिलाई जिम्मा दिनुपर्छ । निश्चत रुपमा कांग्रेस अहिले सरकार बनाउनको लागि आँतुर छैन् ।”