Logo

अतिविपन्न २५ परिवारका लागि बन्न थाले घर



काठमाडौँ, २८ जेठ । मोरङको कानेपोखरी गाउँपालिकाले जनता आवास कार्यक्रम अन्तर्गत अतिविपन्न २५ परिवारलाई घर दिने भएको छ ।

बन्दाबन्दीको समय भए पनि जेठ २१ गतेदेखि विपन्न परिवारका लागि घर निर्माणको काम सुरु गरेको सो गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले जानकारी दिएका छन् । उक्त घर सो गाउँपालिकाको वडा नं. २ मा निर्माण हुँदै छन् । गाउँपालिकाले लाभग्राहीको सहभागितामा उपभोक्ता समिति गठन गरिदिएपछि घर निर्माण कार्य अगाडि बढेको हो ।

घर निर्माण सुरु भएसँगै अतिविपन्न परिवारमा खुसी छाएको छ । घर पाउनेहरूको समूहमा परेको छ ७४ वर्षीय बाबुराम काफ्ले । ‘आकास मडारिन थालेपछि चिन्ता सुरु हुन्थ्यो । हावाहुरीसँगै पानी पर्दा ओभानो कतै हुन्न थियो’– १५ दिन अघिको हावाहुरीले घरको छानो उडाउँदा बुढाबुढी नै खाटमुनि बसेर ज्यान बचाएको स्मरण गर्दै काफ्लेले भने ।

आफ्नो सम्पूर्ण उमेर खेतीपातिमै बिताएका काफ्लेको आफ्नो जग्गा र घर छैन । ऐलानी आठ धुर जग्गामा अहिले उनको घर बनिरहेको छन् । ४६ वर्षीया सगिया मुसहरको पनि घर बन्दै छ । १२ वर्ष भारतमा बसेर काम गर्दा पनि आफ्नो जग्गा र घर बनाउन नसक्नुभएकी सगियाको घर पनि धमाधम निर्माण भइरहेको छ । उनले भने – ‘घर त बन्ने भयो । अब बसेको जग्गा पनि आफ्नो नाममा भयो भने राम्रो हुने थियो ।’

बाबुराम र सगिया प्रतिनिधि पात्र मात्र हुन्  । जीवनभर घामपानी पनि नछेल्ने घरमा बसेर गुजारा गरिरहेका कानेपोखरी गाउँपालिका वडा नं. २, थानटोलीका विपन्न परिवारहरू अहिले आफ्नो घर बनाउने काममा ब्यस्त छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्