Logo

क्वारेन्टाइन बाख्राको खोरजस्तो छैन, सोल्टी होटल जस्तो पनि छैन- घनश्याम भण्डारी, मेयर, दुल्लु नगरपालिका



काठमाडौं, २८ जेठ । दैलेखको दुल्ल नगरपालिकाका मेयर घनश्याम भण्डारी कोरोना भाइरसको रोकथामका लागि प्रयासरत रहेको बताएका छन् । क्वारेन्टाइनको अवस्थाबारे जे जस्तो विषय आएपनि त्यो वास्तविक नभएको दाबी गरेका छन् । भडारीसँग एनआरएन रेडियोका लागि ऋषि धमलाले गरेको कुराकानीः
दैलेखको अवस्था के छ ? दबाबमा स्थानीय सरकार तपाईंहरुले काम गर्न सक्नुभएन सही हो ?
दैलेखको अवस्था कामै नगरेको भन्ने त छैन । तर, काम गर्दागर्दै पनि स्थानीय सरकारले एक्लै काम गर्दा जनता सन्तोष रहने अवस्था भने देखिएको छैन । हामी प्रयासरत छौं ।
त्यहाँको क्वारेन्टाइनको अवस्था कस्तो छ ? कति हजार मान्छे राख्नुभएको छ ?
अहिले दैलेखकको दुल्लु नगरपालिकामा मात्रै २९०२ जना नागरिक क्वारेन्टाइनमा हुनुहुन्छ । त्यसमा दुई २०५ जना महिला र २६९५ पुरुषहरु हुनुहुन्छ । त्यसमा दुई बालबालिकाहरु पनि छन् । अहिले ३८ जना पुरुष आइसोलेसनमा हुनुहुन्छ । एक बालिका र दुई गर्भवती महिला हिजो मात्रै संक्रमण मुक्त भएर घर जानुभएको छ । त्यसैले दैलेखको अवस्था कोरोनाको हिसाबल अलिकति संकटपूर्ण देखिएको छ ।
क्वारेन्टाइनको व्यवस्थापन तपाईंहरुले राम्रोसँग गर्न सक्नुभएन रे त्यहाँका स्थानीयहरुले मलाई फोन गरेका छन् नि ?
क्वारेन्टाइनको व्यवस्था गर्न नसकेको भन्ने कुरा त्यति सत्य होइन । यहाँ हामीले नेपाल सरकारको मापदण्ड अनुसारकै क्वारेन्टाइन बनाइएको छ । स्थानीय सरकारले जेजति सकेको त्योअनुसार राम्रैसँग काम गरेका छौं । जुन प्रदेश सरकार छ, त्यसले केही सहयोग गरेको छैन । सीमानाका अलपत्र परेर मासेका नागरिकलाई स्थानीय सरकारले भाडासमेत हालेर ल्याउने कामदेखि लिएर क्वारेन्टाइनमा राखेर खाना खुवाउनेदेखि पीसीआर परीक्षण र रिपोर्ट निकाल्ने कामसमेत स्थानीय सरकारले नै गरेको छ । त्यसैले स्थानीय सरकारले कामै गरेको छैन भन्ने होइन । बरु काम गर्दा केही कमीकमजोरीहरु भएका होलान् । अरु नगरपालिकाले जस्तो क्वारेन्टाइमा राख्ने नाममा भुइँमा सुताउनेदेखि लिएर खाने, बस्ने र सरफाईमा समेत लापरबाहिक गर्ने गरेको छैन । त्यसैले दुल्लु नगरपालिकाले काम गरेको छैन भन्न मिल्दैन ।
होइन, त्यहाँको क्वारेन्टाइनमा कुटपिटसमेत भएको छ रे नि किन ?
क्वारेन्टाइनभित्रै कुटपिट त भएको छैन । तर, क्वारेन्टाइनमा बस्ने नागरिकहरुले तपाईंहरुले परीक्षणमा किन ढिला गर्नुभयो भन्ने कुरा गर्नुभएको छ । त्यो परीक्षण गर्ने मेसिन अभावका कारण ढिला भएको छ । अब हामीकोमा नै २९०२ जना नागरिकहरु छन् भने अरु ठाउँमा पनि त्यसैगरी नागरिकहरु आएका छन् । परीक्षण किटदेखि सबै नगरपालिका आफैले खरिद गरेर काम गरेको छ । धेरै संख्यमा नागरिकहरु भएको र परीक्षण गरिएको रिपोर्ट पनि भनेको बेलामा नआउँदा असन्तुष्टी भएको छ । उनीहरु आक्रोशित हुनुपनि स्वाभाविक हो । उहाँहरुलाई क्वारेन्टाइनमा दिनभरि बसिरहँदा दिक्क लाग्नुपनि स्वाभाविक हो ।
अनि क्वारेन्टाइन त बाख्राको खोरजस्तो छ रे नि ?
क्वारेन्टाइन बाख्राको खोरजस्तो भएको होइन । कोठमाडौंको सोल्टी होटेल जस्तो त छैन । तर, हरेक नागरिकलाई खान, बस्न, सरसफाइ र सौचालयको राम्रो व्यवस्था गरिएको छ । अझै अरु नागरिकहरु आए भने उनीहरुको लागि पनि बेडहरुको व्यवस्था छ । हामीले कम्तिमा ७ हजार नागरिकहरुलाई व्यवस्थापन गर्ने गरी बनाएका छौं । यहाँ रहेका हरेक सामुदायिक विद्यालयहरुमा बत्ति, पानी र सौचालयको राम्रो व्यवस्था छ । खानको लागि दाल, भात, तरकारीको राम्रो व्यवस्था गरिएको छ ।
तपाईंहरुले चाउचाउ खुवाउनुभएको छ रे दालभात दिन सक्नुभएको छैन रे नि ?
आउनेबित्तिकै चाहीं उहाँहरुलाई एक–एक चाउचाउ र बिस्कुट अनि एक बोतल पानी दिइएको हो । र, बिहान, बेलुका दालभात नै खुवाएका छौं । केहीलेकाही प्रदेश सरकारका प्रतिनिधिहरु आउँछन् उनीहरुले चाउचाउ, विस्कुटहरु दिन्छन् ।
त्यसोभए प्रदेश सरकारले सौतेनी व्यवहार गरेर तपाईंहरुलाई काम गर्न गाह्रो भएको हो ?
अहिले दुल्लु नगरपालिकाका विभिन्न ठाउँमा बसेका २५ सय नागरिकहरुलाई पीपीइसेट, सर्जिकल माक्स, स्यानिटाइजर, पञ्जा, हात धुने साबनलगायतका सामानहरु कोपिला भन्ने संस्थाले उपलब्ध गराएको छ । त्यस्तै नेपाली कांग्रेस दैलेखले हामीलाई दाल, चामल, तेललगायतका खाद्यन्न सामाग्री दिएको छ । सामाजिक सेवाकेन्द्रलगायतका संस्थाहरुले पनि हामीलाई सहयोग गरेका छन् । तर, संघीय सरकारले एक, दुईवटा चाउचाउ बाँड्ने बाहेक केही काम गरेको छैन । त्यस्तै प्रदेश सरकारले क्वारेन्टाइन व्यवस्थापन भनेर २० हजार रुपैयाँ दिएको छ । त्यो चाहीं जहाँ कुनै नागरिक क्वारेन्टाइनमा छैनन् तिनलाई पनि २० हजार हाम्रोमा २९०२ नागरिक छन् हामीलाई पनि २० सै हजार दिनुभएको छ । अर्को प्रदेश सरकारले आइसोलेसन सञ्चालन गर्ने भनेर ९ लाख रुपैयाँ दिएको छ र क्वारेन्टाइन व्यवस्थापन भनेर दिएको २० गरेर सबैलाई जम्मा ९ लाख २० रुपैयाँ दिएको छ । त्योभन्दा बाहेक अरु केही दिएको छैन । यसरी संघ र प्रदेश सरकारले नागरिकको लागि समस्यामा केही काम गरेको छैन । दुल्लु नगरपालिकाले आफ्ना नागरिकका लागि अहोरात्र खटिरहेको छ । तपाईंको कार्यक्रममार्पmत म संघीय सरकारलाई भन्न चाहन्छु । अहिले २९०२ जना नागरिकहरु हुनुहुन्छ । आवश्यक परे अरु ७ हजार नागरिकलाई पनि दुल्लु नगरपालिकाले व्यवस्थापन गर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्