दीपक ज्ञवाली, बुटवल, जेष्ठ २८ गते । रुपन्देहीको मैनहियामा सोमबार राति भएको पाँच जनाको सामूहिक हत्या एकै व्यक्तिले गरेको प्रहरीले निष्कर्ष निकालेको छ । अति सम्वेदनशील घटना ठान्दै अनुसन्धान गर्न आएको प्रदेश ५ प्रहरीको विशेष टोलीले यस्तो निष्कर्ष निकालेको हो ।
घटना अनुसन्धान गर्न प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारर नेतृत्वको टोली घटनाकै अर्को दिन घटनास्थलमा पुगेका थिए। बुधबार प्रेस भेटघाटमा उनले घटनाभित्र अनेक उतारचढाव भए पनि अहिलेसम्मकको अनुसन्धानमा हत्या एकै जनाले गरेको पाइएको बताए । हत्या आरोपमा सोही फर्मका कामदार सुर्खेतका झसेन्द्र सिञ्जाली पक्राउ परेका थिए ।
उनले हत्या स्वीकार्दै आफूलाई चरित्रहत्या गरेकाले आवेशमा त्यस्तो गरेको भन्दै बयान दिएको रुपन्देही प्रहरीका एसपी हेम थापाले बताए।
पशुमाथि यौन हिंसा गरेको आरोप
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार फर्ममा काम गर्ने उनीमाथि पशुमाथि यौनहिंसा गरेको आरोप लागेपछि आफूले त्यस्तो गरेको दाबी गरेका छन् । श्रीमतीको खराब बानी र आचरणपछि सम्बन्ध बिग्रिएको र श्रीमती अन्तै गएपछि विछिप्त रहेको दाबी गर्ने उनले आफूमाथि अनेक आरोप लागेकाले होस गुमाएको प्रहरीसँग बयान गरेका छन् । तनावमा रहेको उनले मानसिक सन्तुलन ठिक नदेखिएको स्थानीयको भनाइ छ । तर उनले समय समयमा कुरा फेर्दै आएका छन् ।
तीन दिनपछि शव व्यवस्थापन
तिलोत्तमा नगरपालिका, फर्म सञ्चालक र स्थानीय पीडित परिवारबीच बुधबार भएको वार्तामा दाहसंस्कार, काजकिरिया जस्ता प्रयोजनका लागि नगरपालिका र फर्म सञ्चालकले रकम उपलब्ध गराउने सहमति भएपछि शवहरूको व्यवस्थापन भएको छ । ती शवहरू अस्पतालको शव गृहमा राखिएका थिए ।
सहमति अनुसार मृतकका प्रत्येक परिवारलाई फर्म सञ्चालक कृष्णबहादुर पुनले जनही एक लाख र तिलोत्तमा नगरपालिकाले जनही २५ हजार रुपियाँ उपलब्ध गराउने छन् । वार्तामा तिलोत्तमा नगरपालिकाका प्रमुख वासु घिमिरे, घटना भएको गङ्गादेवी पशु फर्मका सञ्चालक पुन, मृतकका आफन्त, स्थानीयलगायतको सहभागिता थियो ।
तर घटनामा मृत्युभएका परिवारका दुई जीवित बालकहरूको भविष्यबारे केही सम्बोधन नगरिएको स्थानीयको गुनासो छ ।-गोरखापत्रबाट, शिर्षक सम्पादन गरिएको