Logo

पन्ध्र लाख सिमकार्ड ‘रिसाइकल’



काठमाडौँ, २९ जेठ । नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ ।

नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो । “लामो समयदेखि प्रयोग नभएका सिमकार्डलाई पुनः प्रयोग गर्न रिसाइकल गरिएको हो,” टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भने । यसरी रिसाइकल गरिएका नयाँ सिमकार्डको नम्बर पुरानै हुने भए पनि बजारमा पुनः बिक्री गर्न सकिने उनको भनाइ छ ।

नेपाल टेलिकमले प्राधिकरणबाट हाल ९८४ र ९८६ नम्बरको अपरेटर कोड प्राप्त गरेको छ । टेलिकमका सिमकार्ड नम्बर यिनै अङ्कबाट सुरु हुन्छन् । यसबाहेक टेलिकमले ९८५ लाई पोस्टपेड सिमकार्ड प्रयोगकर्ताका लागि उपयोग गरिरहेको छ । ९८४ र ९८६ बाट बढीमा टेलिकमले दुई करोड सिमकार्ड नम्बर सिर्जना गर्नसक्छ । गत मङ्सिरमै प्रिपेडतर्फको दुई करोड सङ्ख्या नाघेपछि टेलिकमले त्यसयता रिसाइकल गरेरै बजारमा सिमकार्ड उपलब्ध गराइरहेको छ ।

“अपरेटर कोडबाट सिर्जना हुने नम्बरको क्याप पूरा भएपछि अहिले रिसाइकल गर्दै निष्क्रिय सिमकार्डलाई पुनः सक्रिय बनाइरहेका छौँ,” अधिकारीले भने । प्राधिकरणको निर्देशनबमोजिम नै पुराना निष्क्रिय सिमकार्डलाई रिसाइकल गरिएको उनको दाबी छ । पुरानो नम्बरको चाहना गर्ने प्रयोगकर्तालाई पनि यसले सहयोग पुग्ने उनले बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्