काठमाडौं, ३० जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियुका अध्यक्ष ऐन महरले सरकारको विरोधमा प्रदर्शन गर्नेहरु कांग्रेस नेता गगन थापाबाट परिचालित भएको गम्भीर आरोप लगाएका छन् । उनले सडकमा उत्रिएका युवाहरुले गगन थापाले संसदमा सोधेको प्रश्नको उत्तरु देउ भनेर प्लेकार्ड बोकेको कारणपनि उनीहरु थापाबाट परिचालित भएको कुरा स्पष्ट भएको दाबी गरे ।
आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सडकमा केही युवामात्रै आएको बताए । उनले अहिले सडकमा आउने बेला नभएको र यो असान्दर्भिक भएको टिप्पणी गरे । लकडाउन उल्लंघन गरेर सडकमा आउनु गलत भएको उनको भनाई छ । वर्तमान सरकारलाई असफल भनेर भनिएकोमा उनले आपत्ति जनाउँदै यो विरोधको लागि विरोध गरिएको पनि बताए ।