काठमाडौं ३२ जेठ । नेपाल भारतबीचको सीमा विवाद तातीरहेको बेला पूर्वराजदूतले धारणा सार्वजनिक गरेका छन् । नेपालले नयाँ नक्सा जारी गरे पश्चात भारतका पूर्वविदेश सचिव तथा नेपालका लागि भारतका पूर्वराजदूत श्याम शरणले इण्डियन एक्सप्रेसमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
गत मे ८ मा भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक हुँदै लिंक रोडको उदघाटन गरेपछि सीमा विवाद तातिएको हो । नेपालले सुगाली सन्धिलाइ आधार मान्दै आफ्नो प्रशासनिक नक्सा अद्यावधिक गर्दै मे २० मा जारी गरेको थियो । नया नक्सा जारी पाए पछि दुवै देशका सञ्चार माध्यमहरुले आ–आफ्नो धारणा सार्वजनिक गर्दै आएको देखिन्छ ।
नेपालले पहिला लिम्पियाधुरा, कालापानी र लिपुलेक दाबी नगरेको र सन् २०१५ मा भारत–चीनबीच व्यापार तथा वाणिज्य सम्झौता भएपछि मात्रै नेपालले उक्त भूमिमाथि दाबी गरेको श्यामशरणले दाबी गरेका छन् ।
भारत र चीनबिचको युद्धपछि राजा महेन्द्रले आफ्नो भूमिमा रहेका भारतीय फौज हटाउँदा लिपुलेककाबारे केही नभनेको भन्दै श्याम शरणले उक्त भूमिमाथि भारतको दाबीलाई स्वभाविक रुपमा व्याख्या गरेका छन् । तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले १८ वटा भारतीय क्याम्पमध्ये १७ वटा हटाउन इन्दिरा गान्धीलाई पत्राचार गरेको श्याम शरणले लेखेका छन् । उक्त पत्रमा लिपुलेक तथा कालापानीमा रहेका भारतीय क्याम्प हटाउने विषय सूचीमै नरहेको कारण भारतको दावी स्वभाविक भएको दाबी छ । अहिले काली नदीको मुहानको विषयमा दुई मुलुकबीच विवाद देखिएको भन्दै उनले राजा महेन्द्र र वीरेन्द्र राष्ट्रवादी रहेकाले भारतको हितमा काम गर्नेकुरा कल्पनासमेत गर्न नसकिने उल्लेख गरेका छन् ।
भारत र चीनले १९५४ मा भारत र तिब्बतबीचको व्यापार र पारवहनका लागि सम्झौता गरे र यस उद्देश्यका लागि लिपुलेखलाई पनि समावेश गरिएको थियो । त्यसबेला नेपाली पक्षबाट कुनै विरोध न भएको जनाइएको छ। भारत र चीनले लिपुलेकमार्फत दुई देशबीच सीमा व्यापार सञ्चालन गर्न सम्झौता पत्रमा हस्ताक्षर गर्ने समयमा पहिलो पटक नेपालले सन् २०१५ मा औपचारिक रुपमा विरोध गरेको थियो ।
भारतविरुद्ध रहेका राजा महेन्द्र र वीरेन्द्रले लिपुलेकमा भारतीय क्याम्प रहन दिएको भन्ने नेपालीको तर्क हाँस्यास्पद रहेको पूर्वराजदूत श्याम शरणको तर्क छ । आफू राजदूत भएर नेपाल जाँदा कीर्तिनिधि बिष्टले नेपाली भूमिबाट भारतीय क्याम्प हटाउन सकेकोमा गर्व गरे पनि लिपुलेकमा रहेको भारतीय क्याम्पबारे केही नभनेको श्याम शरणले आफ्नो लेखमा उल्लेख गरेका छन् ।-इण्डियन एक्सप्रेसमा प्रकाशित लेखका आधारमा